बागमतीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने 

बागमतीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने 

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोलि विश्वासको मत लिने भएका छन्।

पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि भोलि दिउँसो ३ बजे बागमती प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए। 

‘विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको हो,’सचिव खड्काले उकेरासँग भने,‘भोलि बिहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्नेछ।’

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि भोलि नै मत विभाजन गराउने तयारी गरिएको खड्काले बताए। बागमती प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्तिक २२ गते सोमबार संसद्मा विश्वासको मत लिने निर्णय गरेको थियो। 

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री पाण्डेले सोमबार नै विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्रीमा पाण्डेलाई समर्थन गरेका माओवादीका २३, कांग्रेसका २२, समाजवादीका १३ र जसपाका १ गरी ५९ सांसद छन्।

कात्तिक २१, २०७८ आइतबार १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।