एनआरएनएकाे चुनावमा कांग्रेसले हस्तक्षेप गर्दैन: नेता सिटौला

एनआरएनएकाे चुनावमा कांग्रेसले हस्तक्षेप गर्दैन: नेता सिटौला

काठमाडाैंः नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले गैरआवासिय नेपाली संघ स्वतन्त्र रहेको बताएका छन्। संघ स्वतन्त्र रहेको र नेतृत्त्व चयनका लागि हुने चुनावमा कांग्रेसले हस्तक्षेप नगर्ने उनले बताए।

संघकी उपाध्यक्ष एवं अध्यक्ष पदकी प्रत्यासी रबिना थापाले तिहार, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आयोजना गरेको भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा सिटौलाले संघभित्रको आन्तरिक समस्या आन्तरिक रूपमै समाधान गर्न सुझाव दिए।

'एनआरएनएमा कांग्रेसले कुनै हस्तक्षेप गर्दैन', सिटौलाले भने, 'प्रजातान्त्रिक पद्धतिअनुसार एकतावद्ध भएर नेतृत्त्व चयन गर्नुपर्छ।'

प्रजातान्त्रिक पद्धतिमा कसैको हस्तक्षेपबिना एनआरएनएको नेतृत्त्व चयन हुनुपर्ने उनले बताए।

उनले गैरआवासिय नेपालीलाई सहयोग गर्न आफू तयार रहेको बताए। एनआरएनएको अधिकार नयाँ संविधानमा सुनिश्चित गरिएको र अरू अधिकारका लागि पनि आफू सहयोग गर्न तयार रहेको सिटौलाले बताए।

अमेरिका, बेलायत, जापान, कतार, स्विजरल्याण्ड, अफ्रिका, पोर्चुगल, जर्मन लगायत बिभिन्न देशबाट कार्यक्रममा सहभागीले एनआरएनएको चुनाव तत्काल हुनुपर्ने बताएका थिए।  

एनआरएनएको नेतृत्त्वमा पहिलोपटक महिलालाई पुर्याउनु पर्ने र संघलाई साझा संस्थाको रूपमा कायम राख्न रबिना थापाको नेतृत्त्व मात्रै सफल हुने सहभागीहरूले दाबी गरेका थिए। सामाजिक  संस्थाको रूपमा राजनीतिक हस्तक्षेपबिना नेतृत्त्व चयन हुनुपर्ने सहभागीले बताए।

उनीहरूले संघको अधिवेशन रोक्न वर्तमान अध्यक्ष कुमार पन्त र अध्यक्षका अर्का प्रत्यासि कुल आचार्यले भूमिका खेलेको आरोप पनि लगाए। राजनीति घुसाउन पन्त र आचार्य लागेको उनीहरूको भनाइ थियो। विधि र विधानलाई आत्मसात गरेर तत्काल चुनाव गराउन उनीहरूले वर्तमान नेतृत्त्वलाई आग्रह गरे।

आयोजक थापाले तत्काल चुनाव गराउने अभियानमा आफूहरू लागेको बताइन्। उनले पहिलोपटक नेतृत्त्वमा महिलालाई पुर्याएर इतिहास रच्ने अवसर अहिलेको एनआरएनएलाई रहेको बताइन्।

कात्तिक २०, २०७८ शनिबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।