भारत कसरी पुग्न सक्छ टी-२० को सेमिफाइनल ?

भारत कसरी पुग्न सक्छ टी-२० को सेमिफाइनल ?

एजेन्सी : टी- २० वर्ल्ड कपमा लगातार २ खेल हारेको भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेपछि सेमिफाइनलमा पुग्ने बाटो खोलेको छ। पाकिस्तानसँग पहिलो र न्युजिल्यान्डसँग दोस्रो खेल हारेको भारतले हारको यात्रा तेहेर्याएको भए उ प्रतियोगिताबाट बाहिरिने पक्का थियो।

बुधवारको नाटकीय खेलमा उसले अफगानिस्तानलाई हराएपछि भने अझै सेमिफाइनलमा पुग्ने आस जीवितै छ। पहिलो जितसँगै भारतको रन रेट सुधारिएर -१.९ बाट +०.०७३ पुगेको छ।

भारत रहेको समूहमा सबैभन्दा राम्रो रनरेट (+१.४८१) अफगानिस्तानको छ। सेमिफाइनलको आस जीवित रहे पनि सहज भने छैन।

त्यसका लागि भारतले पहिला स्कटल्यान्ड र नामिबियालाई हराउनै पर्छ। त्यो पनि ठुलो अन्तरले। त्यसपछि मात्रै अफगानिस्तानसँगको रनरेटको अन्तर कभर हुनसक्छ।

ग्रुपमा चार म्याच जितेको पाकिस्तान आठ अंककोसाथ अग्रस्थानमा छ। सुपर १२ का प्रत्येक समूहबाट टप २ टिम सेमिफाइनलमा जान पाउनेछ। भारत चौथो स्थानमा छ।

भारतले जितेर मात्र पनि सेमिफाइनल यात्रा सहज हुने छैन। अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनुपर्ने छ। न्युजिल्यान्ड हारेमा उसको र भारतको समान ६ अङ्क हुनेछ। यो अवस्थामा रनरेटको आधारमा जो बलियो हुनेछ उहीँ सेमिफाइनलमा जानेछ। अफगानिस्तानले जितेमा नामिबियासँगको खेलमा भारतले आवश्यक रनरेटका लागि सोही अन्तरको जित निकाल्ने मौका पाउने छ।

तर पाकिस्तानले स्कटल्यान्डलाई ठुलो अन्तरले हरायो र न्युजिल्यान्डले अफगानिस्तानलाई हरायो भने भारतीय टिमको यात्रा समाप्त हुनेछ। 

कात्तिक १८, २०७८ बिहीबार १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।