५० वटा गाई अट्ने गौ संरक्षण केन्द्र स्थापना

५० वटा गाई अट्ने गौ संरक्षण केन्द्र स्थापना

बुटवल : बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ। गाईपुजाको अवसर पारेर मुक्तिनाथधामका पिठाधीश ब्रह्मनन्द स्वामी लोकानन्दले नन्दिनी गौ संरक्षण केन्द्र उद्घाटन गरे।

पाँच वटा गाईलाई पन्चकन्याद्वारा गौशालामा प्रवेश गराएर गौ संरक्षण केन्द्रको शुभारम्भ गरिएको थियो। त्यस लगत्तै बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, मुक्तिनाथधाम बुटवलका ब्रह्मनिष्ठ सन्त शिरोमणि लोकानन्द स्वामी र सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष नारायणबहादुर घिमिरेले पूजापाठ समेत गरेका थिए।

संसारकै सबैभन्दा श्रेष्ठ प्राणी गौमातालाई मानिने भएकाले पनि गौमातालाई पूजा गर्दा धार्मिक रुपमा समेत महत्व रहेको सन्त शिरोमणि लोकानन्द स्वामीले बताए। गौ माताको अंगबाट निस्कने हरेक चिजबाट मानव र धर्तीको समेत कल्याण हुने भएकाले महत्व मानिने उनले बताए।

करिब ८ बिघा क्षेत्रफलमा तारजाली गरेर व्यवस्थित रुपमा गौ संरक्षणको लागि पूर्वाधार निर्माण गरिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बताए। 

केन्द्रमा ५० बढी गाई अट्ने पूर्वाधार निर्माण गरिएको छ। भविष्यमा गौ अनुसन्धान केन्द्र, पञ्चगव्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्ने अवधारणा सहित गुरुयोजना बनाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको उनले बताए।

यसैगरी गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने व्यवस्था, विद्युत व्यवस्थापन गरिएको छ। दुई जना गाई हेरालु व्यवस्थापन गरी उनीहरुका लागि २ वटा रुम र स्टोर रुम निर्माण गरिएको छ।

यसैगरी मध्यभागमा १ हजार ८ बरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्धन पर्वत बनाउने योजना छ। धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित गौशालाको अवधारणा अगाडि बढेको उनले बताए। योसँगै छाडा चौपायाका कारण नगरको सरसफाइ र सुन्दरता कायम गर्ने र सडकको दुर्घटना कम हुने उनले बताए।

शिवनगर सामुदायिक वन क्षेत्रमा गौशाला व्यवस्थापन समिति गठन गरेर चलाउने योजना रहेको उपभोक्ता समिति अध्यक्ष नारायणबहादुर घिमिरेले बताए। हेरालुहरुले गाईलाई सुरक्षित गराउने र सो स्थानमा लैजाने व्यवस्था गरिने उनले बताए।

बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले गौशाला सञ्चालन व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरिएको बताए। 

सो केन्द्रमा तत्कालै बुटवलका सडकमा रहेका छाडा चौपाय (गाई, गोरु) लगिने र चरण क्षेत्र विस्तार गरिने उनले बताए। पशु सम्बन्धी रोगका विशेषज्ञले परीक्षण, सुसारेले घाँसपातको प्रबन्ध मिलाउने प्रबन्ध गरिएको उनले बताए।

कात्तिक १८, २०७८ बिहीबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।