तिहारमा तिलोत्तमाको सडक झिलिमिली

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य राजमार्गमा झिलिमिली बत्ती बालेको छ। विभिन्न नमुना कार्य र सडक सौन्दर्यका कारण चर्चा बटुलेको नगर भित्रको मुख्य सडक उज्यालो सडकका रुपमा परिचित छ।
नगरपालिकाले यस वर्ष तिहारमा नगर नै झलमल्ल बनाउने योजना अनुसार पोलमा बत्ति लगाएको छ। उज्यालो पर्वका रुपमा लिइने तिहारमा झनै उज्यालो बनाउन नगरप्रमुख बासुदेव घिमिरे आफै खटिएका छन्।
नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियान निरन्तर रहेकोले तिहारको लागि विशेष उज्यालो योजना कार्यक्रममार्फत मुख्य सडक झिलिमिली बनाएको उनले बताए।
अहिले मुख्य सडकका पोलमा आर्कषक बत्ति र झ्यालर राखेर सडक झिलिमिली बनाइएको छ। सहरी सौन्दर्यकरण अन्तर्गत नगरपालिकाको वार्षिक योजनाअनुसार नगर क्षेत्र भित्र पर्ने सिद्धार्थ राजमार्गको कोटिहवादेखि योगिकोटीसम्मका ३४० वटा सडकमा रहेका पोलमा आकर्षण बत्ति र झ्यालर राखिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए।
सहरी सौन्दर्यकरण अन्र्तगत नगरपालिकाको वार्षिक योजना अनुसार दिपावलीमा नगरको मुख्य सडकमा बत्ति र झ्यालर राखेर नगरपालिकालाई थप आकर्षक र सुन्दर बनाएपछि नगरबासी पनि उत्साहित भएका छन्। नगरका मुख्य सडक र मुख्य चोकको दायाँबायाँ आकर्षक बत्ति र झ्यालर राख्दा करिब ५ लाख लागत लागेको उनको भनाइ छ।
कात्तिक १८, २०७८ बिहीबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।