प्रदेश १ को मुख्यमन्त्रीले आचार्य सरकारको निर्णय खारेजीसँगै सुरु गरे काम

इटहरी : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले निवर्तमान मुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णयहरू खारेज गर्ने निर्णय गर्दै आफ्नो कार्यकालको प्रारम्भ गरेका छन्।
मुख्यमन्त्रीको शपथ खाएसँगै बसेको पहिलो मन्त्रीपरिषद्मा उनले आचार्यको नेतृत्वको सरकार अवैधानिक भएको भन्दै उसले गरेको नियुक्ति र सरुवा लगायतका सबै निर्णयहरू पुनरावलोकन गर्ने निर्णय गरेका छन्।
सरकार अल्पमतमा परे पनि कार्यकाल लम्ब्याउँदै आचार्य नेतृत्वको सरकारले कर्मचारी सरुवा गर्ने र राजनीतिक नियुक्तिहरू गर्ने निर्णय गरेका थिए। उनको निर्णयको विरोध हुँदै आएको थियो।
यसै गरी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका १ सय ३७ स्थानीय तहका १/१ अल्पसङ्ख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको छ। बैठकले लोपोन्मुख संस्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कात्तिक १६, २०७८ मंगलबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।