राजीनामाको धम्की दिइरहने अल्मुताइरी २०२४ सम्म नेपाली प्रशिक्षकै रहने

राजीनामाको धम्की दिइरहने अल्मुताइरी २०२४ सम्म नेपाली प्रशिक्षकै रहने
तस्बिर : खेलाडीडटकम

मङ्गलवार सार्वजनिक भएको नयाँ सम्झौता पत्र अनुसार उनी २०२४ को अन्त्यसम्म नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहनेछन्। यसअघि उनी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बिच २०२२ सेप्टेम्बर ३० सम्मका लागि सम्झौता भएको थियो।

यो बिचमा उनले तीन पटक राजीनामाको धम्की दिइसकेका छन्। मालदिभ्सको मालेमा गत महिना सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पुगेपछि उनले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै अन्तिम हो अब नेपाल फर्कन्न भन्ने दाबी गरेका थिए।

उनले एन्फासँग करार सम्झौता गर्नुको कारण नेपाली समर्थकको माया भएको दाबी गरे। मङ्गलवारको पत्रकार सम्मेलनमा उनले भने, ‘म नेपाली मानिसहरूका लागि काम गर्न चाहन्छु। उनीहरू खुसी हुँदा म पनि खुसी हुन्छु।’

उनले नेपाली फुटबलका समर्थकका कारण पहिलो पटक फाइनलमा पुगेको बताउँदै फाइनलको नतिजाबाट भने आफू निराश भएको बताएका थिए। प्रतियोगिता सकिएपछि नेपाली टोली स्वदेश फर्कियो। उनी भने घर बिदामा कतार गएका थिए।

उनले बारम्बार धम्क्याए पनि उनी मुख्य प्रशिक्षक भएपछि नेपालको खेलमा सुधार देखिएको छ। खेलको क्रममा उनको हाउभाउ नेपाली प्रशंसकमाझ लोकप्रिय छ। दसैँमा उनले नेपाली ढाका टोपी लगाउँदै टिका समेत लगाएका थिए।

 

 

कात्तिक १६, २०७८ मंगलबार १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।