प्रधानमन्त्री फर्किएपछि प्रधानन्यायाधीशबारे छलफल हुन्छ : माधव नेपाल

रौतहट : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री विदेश भ्रमणबाट आएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबारे छलफल गर्ने बताएका छन्।
गृह जिल्ला रौतहटमा रहेका उनले न्यायालयको विवादबारे सत्तारुढ गठबन्धनका नेताहरू बसेर छलफल गर्ने बताएका थिए। यस अगाडि नेपालले अदालतको समस्या अदालतभित्रबाट सुल्झाउनुपर्ने बताएका थिए।
प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतमा दैनिक इजलास समेत बस्न सकेको छैन भने नेपाल बार एसोसिएसन आन्दोलनमा छ। तर प्रमुख दल यसबारे पन्छिँदै आएका छन्। सत्तारुढ अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समेत अदालतमा देखिएको समस्याबारे सत्तारुढ दलको बैठक बसेर समान धारणा बनाउने बताउँदै आएका छन्।
चुनावसम्म पाँच दलको गठबन्धन
नेता नेपालले अब आउने चुनावसम्मै वर्तमान गठबन्धन कायम रहने दाबी समेत गरेका थिए। तीनै तहको निर्वाचनमा पाँचै दल मिलेर सहभागी हुने र तालमेलका लागि पाँच दलका नेता बसेर छलफल गर्ने उनले दाबी गरेका थिए।
उनले अहिलेको अवस्थामा अर्ली इलेक्सन सम्भव नभएको र चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नुपर्ने समेत बताएका थिए।
कात्तिक १६, २०७८ मंगलबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।