बैङ्क तथा वित्तीय संस्थाको पहुँच : बागमतीमा धेरै, कर्णाली र सुदूरपश्चिममा न्यून

राष्ट्र बैङ्कले आज प्रकाशित गरेको अध्ययन प्रतिवेदन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच न्यून देखिएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा बैङ्क तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्यामध्ये सबै भन्दा बढी बागमती प्रदेशमा ३४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा ४ प्रतिशत रहेको छ।
बैङ्क तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बागमती प्रदेशमा रहेको छ। कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनमा बैङ्क तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको राष्ट्र बैङ्कले जनाएको छ।
पछिल्ला वर्षहरूमा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ। सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बागमतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको केन्द्रीय बैङ्कले जनाएको छ।
औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको बैङ्कले जनाएको छ।
अध्ययनले प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ।
कात्तिक १५, २०७८ सोमबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।