घोराहीबाट २० हाइप्राेफाइल जुवाडे पक्राउ, छुटाउन नेताहरूकाे दौडधुप

घोराहीबाट २० हाइप्राेफाइल जुवाडे पक्राउ, छुटाउन नेताहरूकाे दौडधुप

दाङः जिल्लाकाे घाेराही उपमहानगरपालिकाबाट २० जना हाइप्राेफाइल जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको रझेनाबाट साढे चार लाखभन्दा बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको हाे।

पछिल्लो समय तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले जुवा खालमा छापा मारेर दिनहुँजसो जुवाडेहरू पक्राउ गर्दे आएको छ।

उपमहानगरपालिकाकाे वडा नम्बर १४ रझेनामा आइतबार राति २५ वर्षीय यज्ञ खड्काको घरमा अवैध रूपमा जुवा खेलिरहेकाे सूचनाकाे आधारमा प्रहरीले छापा मार्दा २० जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

जुवा खेलेकाे अवस्थामा पक्राउ पर्नेमा एमाले नेता घोराही-१५ का ५७ वर्षीय महावीर वली, ध्रुवराज केसि, पूर्णचन्द्र अधिकारी रहेका छन्।

यस्तै रोल्पा रुन्टीगढी गाउँपालिकाका ४३ वर्षीय रूपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली रहेका छन्।

त्यस्तै कांग्रेस नेताहरूमा घोराही ५ का ५७ वर्षीय नवीन पछाँई, घोराही १५ का ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवी गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूका साथबाट चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको एसपी काफ्लेले बताए। यस्तै जुवाडेले प्रयोग गरेका चार वटा कारहरू समेत नियन्त्रणमा लिएको उनले जानकारी दिए।

प्रहरीलाई समेत झुक्याएर बाहिरै गाडीमा बसेको एक जना व्यक्तिले लाखौं रुपैयाँ लिएर भागेको र साे व्यक्तिकाे पहिचान भइसकेकाले खोजी कार्य जारी रहेको पनि उनले बताए।

पक्राउ परेकाविरूद्ध जुवा ऐनअन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रकृया अगाडि बढाउने प्रहरीले जनाएको छ।

यता गएको शुक्रबार तुलसीपुरबाट हाइप्रोफाइल जुवाडे पक्राउ गरेपनि ३ दिनमै छुटेपछि प्रहरीकाे आलोचना भएकाे थियाे। कसैलाई २५ दिनसम्म थुनामा राख्ने त कसैलाई चिनजान र आर्थिक चलखेलकै आधारमा २-३ दिनमै छुटाउने गरेकाे भन्दै प्रहरीकाे आलाेचना भएकाे हाे। 

प्रहरीले आइतबार घोराही-१६ खिरट्टेबाट ७० हजारसहित पक्राउ परेका ८ जुवाडेलाई सामान्य म्यारिज मात्रै खेलेको भन्दै मुद्दा नचलाई छाडेको थियाे।

हाल कांग्रेस र एमालेका नेताहरू जुवा खालबाट पक्राउ परेपछि नेताहरू जुवाडे छुटाउन प्रहरी कार्यालयमा दौडधुप गरिरहेका छन्। जुवा खेलाएको आरोपमा अघिल्लो पटक प्रहरीले छापा हानेका कांग्रेसका क्षेत्रीय सभापति भूपबहादुर डाँगीको नेतृत्त्वमा कांग्रेस र एमालेका नेताहरू जिल्ला प्रहरी कार्यालय पुगेका छन्।

कात्तिक १५, २०७८ सोमबार १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।