भारतको फेरि लज्जास्पद हार, सेमिफाइनल पुग्न कठिन

काठमाडौः जारी टी ट्वेन्टी विश्वकपमा भारतले पुनः लज्जास्पद हार व्यहोरेको छ। गए राति न्युजिल्याण्डविरुद्धको खेलमा भारत ८ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो। सो लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेटको क्षतिमा भेटायो।
न्युजिल्याण्डका लागि ड्यारिल मिचेलले सर्वाधिक ४९ रन बनाए। कप्तान केन विलियमसनले अविजित ३३ रन बनाए। यस्तै मार्टिन गप्टिलले २० रन बनाए। बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट वोल्टले ३ विकेट लिए। भारतीय मूलका इश सोडीले २ विकेट लिए। उनले कप्तान विराट कोहलीको विकेट लिएका थिए।
यता भारतको भने न ब्याट न बल दुवै चलेन। बलिङतर्फ जसप्रित बुमराहले २ विकेट लिए। अरूले विकेट लिनै सकेनन्। ब्याटिङतर्फ ओपनर केएल राहुलले १८ रन बनाए। इसान किसान ४ रन बनाएर पभेलियन फर्के। रोहित शर्मा १४ रनमै क्याच आउट हुन पुगे। कप्तान कोहली ९ रन बनाएर पभेलियन फर्के।
भारतले लगातार दुई खेल हारेसँगै अब सेमिफाइनल यात्रा कठिन भएको छ। भारतले अब तीन खेल खेल्न बाँकी छ। तीन वटैमा जीत हासिल गरे पनि भारतको केवल ६ अंक हुनेछ। यता अफगानिस्तानले आगामी सबै खेल जितेमा अफगानिस्तान ८ अंकसहित सेमिफाइनल पुग्ने सम्भावना रहेको छ। त्यस्तै सम्भावना न्युजिल्याण्डको पनि छ।
यस्तोमा भारतले अब आगामी तीनै खेल जितेर पनि अरू टिमको खेलको नतिजामा निर्भर रहनुपर्नेछ।
कात्तिक १५, २०७८ सोमबार ०७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।