पुन:कर्जाका लागि आवेदन दिन राष्ट्र बैङ्कले गर्‍यो आग्रह 

पुन:कर्जाका लागि आवेदन दिन राष्ट्र बैङ्कले गर्‍यो आग्रह 

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले पुन:कर्जाका लागि आवेदन आव्हान गरेको छ। कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायका लागि बैङ्कले आवेदन गर्न आह्वान गरेको हो।

कोरोनाका कारण प्रभावित, अतिप्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने प्रयोजनका साथ केन्द्रीय बैङ्कले आवेदनका लागि आग्रह गरेको जनाएको छ।  राष्ट्र बैङ्कले आज निकालेको सूचनामा इजाजत लिएका क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई आवेदन दिन आग्रह गरेको छ। 

राष्ट्र बैङ्कले पुस १९ गतेसम्म पुर्नकर्जाका लागि आवेदन दिने समयसीमा तोकेको छ। 

बैङ्क तथा वित्तीय संस्था नियमन विभागका अनुसार कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई त्यस्तो कर्जा दिनुपर्नेछ। पर्यटन क्षेत्र, होटेल, मनोरञ्जन क्षेत्र, तयारी पोसाक, रोजगारी गुमेका अन्य क्षेत्र, यात्रुवाहक सवारी साधनलगायत विभिन्न १५ क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ।

मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान उत्पादन गर्ने उद्योग, अस्पताल, भण्डारण गर्न सकिने वस्तु तयार पार्ने उद्योग, निर्माणमा रहेका जलविद्युत् आयोजना मध्यम प्रभावित क्षेत्रमा रहेका छन्।

कात्तिक १४, २०७८ आइतबार २१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।