'रंगमञ्चमा विदेशीका मुद्दा लाद्न खोज्नु नेपाली समाजलाई धोका दिनु हो'

'रंगमञ्चमा विदेशीका मुद्दा लाद्न खोज्नु नेपाली समाजलाई धोका दिनु हो'
तस्बिर : कृष्पा श्रेष्ठ

दुई दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय पुरु लम्साल सांस्कृतिक नाटक लेखनमा बढी रुचि राख्छन्। 

सामाजिक यथार्थवादी धारमा नाटक लेख्ने लम्साल समाजका समस्यालाई आफ्नोपन सहित खोजी गरी समाजलाई नै देखाउनु, बुझाउनुपर्छ भन्ने मान्यता राख्छन्।

नाटक लेखक तथा निर्देशक लम्सालका ‘ठूलीका सपनाहरु’, ‘अर्को ओराले’, ‘नौगेडी’, ‘मनझाँक्री’, ‘फड्के’, ‘देश हराएका मान्छेहरु’, ‘पानी घट्ट’, ‘देउकाशी’, ‘पैँया’ लगायतका एक दर्जनभन्दा बढी नाटक प्रकाशित छन्। उनले दर्जनौं निर्देशन समेत गरिसकेका छन्।

नेपाली रंगमञ्चमा विदेशीका मुद्दा लाद्न खोज्नु नेपाली समाजलाई धोका दिनु हो भन्ने लम्सालसँग नाटकका विविध पक्षबारे उकेराको मलाई मनपर्छ कोलमका लागि उकेराकर्मी इश्वरकुमार मैनालीले गरेको कुराकानी उनकै शब्दमाः

०००
मलाई मनपर्ने नाटककार हुन्, गोपालप्रसाद रिमाल। उहाँलाई म सामाजिक यथार्थवादी नाटकका पिता भन्ने गर्छु। 

पारसी थिएटरबाट प्रभावित भइरहेको नेपाली रंगमञ्चलाई  रिमालले मौलिक नाटक दिएर आफ्नो कथालाई आफ्नै तरिकाबाट प्रस्तुत गर भनेर सिकाउनुभयो भन्ने लाग्छ।

भरतको नाट्यशास्त्र र ब्रिटिस थिएटरको खिचडीको रुपमा पारसी थिएटरको दबदबा भारतमा थियो। त्यसको असर नेपालको रंगमञ्चमा पनि देखियो। त्यसबेला रिमालले  ‘मसान’ जस्तो नाटक हामीलाई दिनुभयो।

रिमालका नाटकले त्यतिबेला नारी संवेदनालाई निकै उत्कृष्ट ढंगबाट देखायो। समाजलाई फरक आयामबाट प्रस्तुत गर्यो। तर मसानलाई लिएर रिमाललाई सत्ताको चाप्लुसी गर्न पल्किएकाहरुले ‘पुतलीको घर’ नाटकलाई चोरेर नेपालीमा उल्था गरेको आरोप पनि लगाए, जुन सरासर झुट थियो।

गोपालप्रसाद रिमाल नेपाली साहित्यको त्यस्तो नाम हो जो समाजसँग आफ्नो अन्तिम समयसम्म उत्तिकै जोश र हिम्मतका साथ जोडिइरहनुभयो। आफ्नो समाजलाई राम्रोसँग बुझेको मान्छेले राम्रोसँग बुझ्दै नबुझेको अर्को समाजको कुरा कसैबाट प्रभावित भएर लेख्छ भन्ने लाग्दैन।

प्रभावित भए पनि आफ्नोपन हाल्छ। मैलिकता दिन्छ। यसो भनिरहँदा रिमालको मसान कतै पनि प्रभावित छैन भन्ने चाहिँ होइन। मुद्दामा प्रभावित हुनु र शब्द हुबहु सापटी लिनु फरक कुरा हो।

सिर्जनालाई समाज चलिरहेको बाटोले असर गर्छ। मानवीय संवेदना समाजको गतिले निर्धारण गर्छ। एकै समयभित्र फरक भूगोलमा एकै संवेदनाका कथा हुँदैनन् भन्ने छ र? त्यसमाथि सीमित पात्रको सीमित गतिविधि नजिक-नजिक हुन आउँदैमा त्यो चोरी नै हो भन्ने हुँदैन।

रिमाललाई त्यतिबेलाका शासकको प्रभावमा आएर केही मान्छेले चोरीको आरोप लगाए। ल एकछिनलाई चोरेकै सही। ती विरोध गनेहरुले चाहिँ आँखैअगाडि देखिरहेका कथाहरु किन टिपेनन् त? मान्छेलाई आफ्नो कमजोरी पचाउन गाह्रो हुन्छ। रिमालको सन्दर्भमा पनि भएको त्यस्तै हो। 

०००
नेपाली नाटकमा रिमालले देखाउनुभएको यथार्थवादको बाटोकै जगमा आजको नेपाली रंगमञ्च उभिएको छ। यसो भनिरहँदा रिमालको जन्ममितिकै विवादले पनि हामीले कसरी हाम्रा सर्जकलाई लिइरहेका छौं भन्ने देखाउँछ। कतै उहाँको जन्म मिति १९७५ साल जेठ १८ गते लेखिएको छ भने कतै १९७४ जेठ १८ गते लेखिएको छ। 

सय वर्ष पुरानो कुरामासम्म तथ्यमा पुग्न नखोजेर विवादमा अल्झने हाम्रो परम्पराले रिमालका सिर्जनामाथि गर्व गरे तापनि उनीमाथि हुनुपर्ने अध्ययन–अनुसन्धान भने शून्यप्रायः नै छ।

रिमालका समकालीन लेखकले आफ्नो बखानमा लेखाए, लेखे तर रिमालले त्यसो गरेनन्। र, उनका धेरै कुरा रहस्यमा नै छन्। उदाहरणका रुपमा उनको मृत्युको घटनालाई लिन सकिन्छ।

२००७ सालको राजनीतिक परिर्वतनपछि रिमाल उति शान्त थिएनन्। नेपालमा उनले चाहे जस्तो परिर्वतन हुन सकेन। सामाजिक रुपान्तरण सोचे अनुरुप नभएपछि उनी चोक–चोकमा खुकुरी नचाउँदै पनि हिडे। समाज आफ्नो सोचअनुरुप रुपान्तरण नभएका कारण नै उनको मानसिक सन्तुलन बिग्रियो। राँचीमा उपाचार गराइयो। निको भएपछि फेरि विद्रोहमा नै लागे।

त्यसबेलाका उनका समकालीनहरुको कथ्यअनुसार रिमाललाई स्लो पोइजन खुवाइयो र उनको ५५ वर्षमा नै निधन हुन पुग्यो। यो घटनाको बारेमा अध्ययन भएको खै?  

भलै, यो कुरा झुठो होला या सही होला तर रेको भरमा बोलिरहँदा त भोलि चरित्रमाथि नै पनि त गम्भीर समस्या आउँछ नि। नाममा बाँचेकाहरु मरेर पनि मर्दैनन्। यस्ता रे–रेका कुराले उनीहरुको नाममा समस्या ल्याउँछ।

धार्मिक समाज हो हाम्रो। धार्मिक मिथमा मात्र नाटक बनाउने हो भने हामीलाई कथाको कमी हुन्छ र? हामी त आफ्नो अनुहार हेर्न नै लजाउँछौं। विदेशीका ऐजेण्डालाई घुसाएर आफूलाई देशभक्त मान्छौं।

काठमाडौंको हुनेखाने बाहुनको छोरो त्यस समयमा  विद्रोही भएर निस्कन सजिलो त थिएन होला। 

हामी क्रान्तिको आह्वानमा आज पनि रिमालका कविता पढ्छौं, रिमाललाई आफ्नो आइडल मान्छौं तर उहाँको जीवन र योगदानको उत्खनन् र संरक्षण गर्न उल्लेख्य जमात किन लागि पर्दैनौँ भन्ने प्रश्नले मेरो मनमा हलचल ल्याइरहन्छ।

०००
छोटो जीवन बाँचेर पनि लामो समयसम्म बाँच्न सक्ने लेखक रिमालका ‘मसान’ र ‘यो प्रेम’ नाटक संग्रह, ‘आमाको सपना’ कविता संग्रह गरी जम्मा तीन पुस्तक र केही एकाङ्की प्रकाशित छन्। 

रिमालको निधनपछि उनका केही फुटकर कविता र एकाङ्की हरायो भनेर पनि त्यसबेलाका लेखकमा चर्चा थियो।

समाजप्रति जिम्मेवार लेखकका पथलाई छाडेर हाम्रा लेखकहरु विदेशीको एजन्डा लेख्न लागि परिरहेका छौं। पैसामा बिकेर आफ्नो पनलाई बन्चरो हानिरहेका छौं।

नेपाली हौं, नेपाली समाजको समस्या लेख, नेपालको कथा लेख भन्ने जुन मन्त्र रिमालले आफ्ना रचनाबाट हामीलाई दिनुभएको छ, त्यो पथमा हिँड्न म चाहिँ प्रयासरत छु र त्यसकै नतिजा स्वरुप ‘नेपाली रंगमञ्चमा नेपाली नाटक’ अभियान हामीले सञ्चालन पनि गरिरहेका छौं।

हामीसँग प्रशस्त कथा छन्, विदेशी नाटकलाई विदेशकै परिवेश राखेर किन देखाउने? त्यो अनुवाद गर्ने समयसम्म त नयाँ नाटकै लेख्न सकिन्छ नि हाम्रै कथामा। तर समस्या के भने हामी अल्छी छौं। अध्ययन-अनुसन्धान गर्दैनौं।

विदेशी नाटक अनुवादमा भएजति शक्ति लगाएर मञ्चन गररे विदेशी मुद्दा यहाँ लाद्नु देश र जनताप्रति नै गद्दारी हो। समाजलाई धोका दिनु हो। यहाँ हाम्रै समस्या छरप्रस्ट छन्। आफ्नो अनुहार नर्हेर्ने अनि विदेशीको पछि कुदेर त्यसले समाजलाई घात र आफ्नोपनको नाश बाहेक केही गर्दैन।

०००
म आफैं पनि सामाजिक यथार्थवादी नाटक लेख्छु। समाज बाहिर गएर लेख्नुभन्दा समाजका मसिना विषयवस्तुलाई मिहिन ढंगबाट केलाउनु र त्यसको चिरफार गरेर समाजलाई देखाउनु रिमालको विषेषता हो। म त्यही विषेषतको प्रभावमा छु। र, मैले लेख्ने नाटकमा पनि रिमालका पात्रहरुझैं समाजका विषय बोकेर मेरा पात्रहरु आउँछन्। साथमा ती पात्रहरुले संस्कार र संस्कृति पनि बोकेर हिँड्छन्। मलाई नाटकमा यस्तो हुनुपर्छ भन्ने चेत रिमालका नाटकले दिएका हुन्। 

रिमालका लेखनमा सामाजिक विसंगति, विकृति र नेपाली समाज कुन गतीमा, कुन दिशामा जाँदैछ भन्ने प्रष्ट देखिन्छ। आर्थिक र सामाजिक साङ्लोले कसरी हाम्रो समाज बेरिएको छ, ऐना हेरे जस्तै छ रिमालका नाटकहरुमा। 

०००
इतिहास बलियो भएका देशका नागरिक हौं हामी। ती इतिहासमाथि नाटक बनाउने हो भने कुनै विदेशीको नाटकभन्दा कम हुन्छन् र? 

हाम्रा देशका हरेक समुदायका कथा ल्याउने हो भने कति वर्षलाई नाटक गर्न पुग्छ अनुमान छ हाम्रा नाटककारलाई?

धार्मिक समाज हो हाम्रो। धार्मिक मिथमा मात्र नाटक बनाउने हो भने हामीलाई कथाको कमी हुन्छ र? हामी त आफ्नो अनुहार हेर्न नै लजाउँछौं। विदेशीका ऐजेण्डालाई घुसाएर आफूलाई देशभक्त मान्छौं।

हामीसँग कथै-कथा छन्। समाजले हेर्न चाहेका धेरै कथा छन् समाजकै। हो, त्यही समाजका कथा समाजलाई नै देखाउने रिमालको प्रवृत्ति मेरो नाटक लेखन हो।

कात्तिक १३, २०७८ शनिबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।