पाकिस्तानको जितको शृङ्खला जारी : तेस्रो खेल पाँच विकेटले जित्यो

काठमाडौँ : टी-२० विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेल पनि पाकिस्तानले जितेको छ। अफगानिस्तानले खेलमा दबाब बनाए पनि पाकिस्तानले हरायो।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हरायो।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो। १ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५ विकेट गुमाउँदै छ बल नखेली लक्ष्य भेट्टाएको थियो।
अफगानिस्तानका लागि मोहम्मद नावी र गुल्बादिन नाइबले ३५/३५ रन बनाए। नजिबुल्ला जर्दानले २२, करिम जनतले १५ र रहमानुल्लाह गुर्बाज र अस्घर अफगानले १०/१० रन बनाएका थिए।
पाकिस्तानका इमाद वसिमले २ विकेट लिए। शहीन अफ्रिदी, ह्यारिस राउफ, हसन अलि र शदाब खानले समान १/१ विकेट लिएका थिए।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५१ रन बनाए।फखर जमनले ३०, असिफ अलीले २५, सोयब मलिकले १९ र मोहम्मद हाफिजले १० रन जोडेला थिए।
अफगानिस्तानका रासिद खानले २ र मुजीब उर रहमान, मोहम्मद नावी र नवीन उल हकले समान १/१ विकेट लिएका थिए।
कात्तिक १२, २०७८ शुक्रबार २३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।