मेयर कपमा तुलसीपुर र वीरेन्द्रनगरको विजयी सुरुवात, हेटौडा र पोखरा बाहिरिए 

मेयर कपमा तुलसीपुर र वीरेन्द्रनगरको विजयी सुरुवात, हेटौडा र पोखरा बाहिरिए 

काठमाडौँ : मेयर कप महिला राष्ट्रिय लिग छनोट खेलमा तुलसीपुर र वीरेन्द्रनगरले विजयी सुरुवात गरेका छन्। गोकर्णेश्वर भने बराबरीमा रोकिएको छ। 

शुक्रबार एन्फा मैदानमा भएको पहिलो खेलमा हेटौँडा उपमहानगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै तुलसीपुरले सुखद सुरुवात गरेको हो। तुलसीपुरको जीतमा ममता पुन मगर र मेनुका आले मगरले १-१ गोल गरे। 

जीतसँगै समूह ‘एफ’को तुलसीपुरले ३ अङ्क जोडेको छ। हेटौँडाको लगातार दोस्रो हार हो। हेटौँडा प्रतियोगिताबाट समेत बाहिरिएको छ। 

दोस्रो खेलमा समूह ‘जी’को पोखरा उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले सुखद सुरुवात गरेको छ। वीरेन्द्रनगरको जीतमा सुमित्रा योञ्जनले २ गोल गरिन्। यस्तै, सम्झना शर्मा र सुस्मिता तामाङले १-१ गोल गरे। पोखराकी झरना चाम्लिङ राईले १ गोल फर्काइन्। 

जीतसँगै समूह ‘जी’मा वीरेन्द्रनगरले ३ अङ्क जोडेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। लगातार दोस्रो हार बेहोरेको पोखरा भने बाहिरिएको छ।

तेस्रो खेलमा गोकर्णेश्वर नगरपालिका र धनगढी उपमहानगरपालिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन्। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोकर्णेश्वरकी शेरचन तामाङले गोल गर्दै अग्रता दिलाएकी थिइन्। तर, चन्द्रा भण्डारीले दोस्रो हाफमा गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याएकी हुन्। 

बराबरीसँगै समूह ‘एच’बाट गोकर्णेश्वरले एक खेलमा १ अङ्क जोडेको छ। धनगढीले दुई खेलमा ४ अङ्क जोडेको छ। 

यस समूहबाट गोकर्णेश्वर र धनगढीलाई दोस्रो चरणको मौका रहेको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा जारी प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको छ। 

हालसम्म समूह ‘ए’बाट झापाको कनकाई नगरपालिका, समूह ‘बी’बाट ललितपुर महानगरपालिका, समूह ‘सी’बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्।

कात्तिक १२, २०७८ शुक्रबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।