मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

काठमाडाैंः मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन  (आईपीओ)को बाँडफाँट गरेको छ। आज कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेकाे हाे।

आईपीओमा कूल २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएका थिए। त्यसमध्ये ९५ हजार ७२२ को आवेदन रद्द भएको छ भने र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ।

कम्पनीले गत असोज २० गते ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्कासन गरेकाे थियाे। बिक्री खुला गरिएको कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी रु ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कूल अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ रहने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख छ। 

कात्तिक १२, २०७८ शुक्रबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।