एमालेलाई लुम्बिनीका १० पालिकाको नेतृत्व टुङ्गाउन सकस

बुटवल : लुम्बिनी प्रदेशका १० पालिकामा नेतृत्व चयनका लागि नेकपा एमालेलाई सकस भएको छ।
लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तह मध्ये ९९ पालिकाहरूमा नेतृत्व चयन भए पनि अझै ११ पालिकामा नेतृत्व चयन हुन बाँकी रहेको एमालेले जनाएको छ।
मंगलबार देशभर भएको एमाले गाउँ नगर अधिवेशनमा बर्दियाको राजापुर गाउँपालिका र गेरुवा गाउँपालिकामा बाढी पहिरो प्रभावित क्षेत्र भएका कारण कार्तिक १५ गतेका लागि अधिवेशनको मिति तय गरिएको छ। यी दुई स्थानीय तहमा १५ गते नेतृत्व चयन हुने एमाले लुम्बिनी प्रदेशका कार्यालय सचिव बलराम अधिकारीले बताए।
हिजो सम्पन्न हुनुपर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका सहित देवदह नगरपालिका, सिद्धार्थनगरपालिका र सियारी गाउँपालिकामा अहिलेसम्म अधिवेशन सकिएको छैन।
यसैगरी रोल्पाको थवाङमा आज मात्र प्रतिनिधि पुगेकाले भोलि मात्र नेतृत्व चयन हुने अधिकारीले बताए। अधिकारीका अनुसार थवाङ सकिएपछि त्यहीकै प्रतिनिधिले लिवाङको पनि अधिवेशन गराउने छन्।
गुल्मीको मदाने र धुर्कोट गाउँपालिकामा आकाङ्क्षी धेरै भएपछि सहमति जुट्न नसक्दा हालसम्म नेतृत्व चयन हुन सकेको छैन। त्यस्तै प्युठानको प्युठान नगरपालिका र माण्डवी गाउँपालिकाको अधिवेशन हुन बाँकी छ।
लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामा भएको एमाले अधिवेशनमा युवा पुस्ताले नेतृत्व पाएको छ। बुटवल उपमहानगरपालिकामा किशन ज्ञवाली अध्यक्ष चयन भएका छन्। उनी यस अघि सचिव थिए।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा माधव वली, घोराही उपमहानगरपालिकामा भुवन चौधरी र नेपालगन्ज उपमहानगरपालिकामा दत्तप्रसाद आचार्य अध्यक्ष भएका छन्।
बुटवल बाहेकका सबै उपमहानगरमा अन्य पदाधिकारीहरूको पनि टुङ्गो लागेको छ। बुटवल उपमहानगरमा सचिव र २ वटा उपसचिव पदमा सहमति जुट्न नसकेपछि छलफल जारी रहेको एमालेले जनाएको छ।
कात्तिक १०, २०७८ बुधबार २०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।