नेपाली कामदारका विषयमा युएईसँग श्रममन्त्री श्रेष्ठले गरे छलफल 

नेपाली कामदारका विषयमा युएईसँग श्रममन्त्री श्रेष्ठले गरे छलफल 

काठमाडौँ : संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ।

भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संसाधन मन्त्री अवारसँग छलफल गरेका छन्।

भेटमा नेपाल– युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका विषयमा छलफल भएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ।  

नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले कतार, साउदी अरेबिया र मलेसियाका समकक्षीहरूसँग छलफल गरेका छन्। 

कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको छ। 

साउदी अरेबियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने विषयका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले जानकारी दिए। 

भुसालका अनुसार मलेसियासँगको सचिवस्तरीय बैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको छ। 

श्रमिक पठाउने र लिने देशहरूको साझा फोरम आबुधाबी डायलगमा आप्रवासी कामदारको विषयमा अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत गरेका भुसालले रिसर्च अवार्ड  प्राप्त गरेका छन्। 

कात्तिक १०, २०७८ बुधबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।