बागमतीको मुख्यमन्त्रीमा ५९ सांसद सहित पाण्डेको दाबी पेस 

बागमतीको मुख्यमन्त्रीमा ५९ सांसद सहित पाण्डेको दाबी पेस 

काठमाडौँ : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दाबी प्रस्तुत गरेका छन्।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न भोलि दिउँसो ३ बजेसम्मको समय दिएका थिए। 

पाण्डेले आजै ५९ जना सांसदको दस्तखतसहित मुख्यमन्त्री पदमा नियुक्तिका लागि  दाबी पेस गरेका प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव कृष्ण आचार्यले जानकारी दिए।

माओवादी केन्द्रका २३, कांग्रेसका २२,नेकपा एकीकृतका १३ र जनता समाजवादीका १ गरी ५९ सांसदको हस्ताक्षर सहित पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ। शाक्यले आजै मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन। 

मुख्यमन्त्रीमा दाबी पेस गरेका पाण्डे भोलि दिउँसो ३ बजेपछि नियुक्ति हुने आचार्यले बताए। ‘मुख्यमन्त्रीमा नियुक्ति गर्न राजेन्द्र पाण्डेले दाबी पेस गर्नु भएको छ,’आचार्यले उकेरासँग भने,‘भोलि दिउँसो ३ बजेपछि प्रदेश प्रमुखले नियुक्ति र पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ।’

कात्तिक १०, २०७८ बुधबार २०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।