खाद्य बस्तुको गुणस्तरमा लापरबाही : मिठाई पसललाई १० देखि २० हजार रुपैयाँसम्म जरिवाना 

खाद्य बस्तुको गुणस्तरमा लापरबाही : मिठाई पसललाई १० देखि २० हजार रुपैयाँसम्म जरिवाना 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बत्तिसपुतलीमा रहेको रामेश्वर मिठाइ पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले गुणस्तरहीन मिठाई विक्री गर्ने रामेश्वर मिठाई पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको हो। 

मंगलबार महाराजगन्जस्थित प्रिया स्वीट एन्ड चाट हाउसलाई २० हजार रुपैयाँ र ताज बेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरेको समितिले जनाएको छ। 

रामेश्वर मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराइको तेल मिठाइ बनाउन अयोग्य थियो। टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गरिएको थियो।

सञ्चालक भने तेल फाल्न राखिएको दाबी गरिरहेका थिए। तर कराई चुलामा तातिरहेको अवस्थामा थियो।  मिठाइ बनाउन प्रयोग गरिने रङ्ग र मसलाको म्याद सकिएको बजार निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार फ्रिजमा राखिएका करिब १ दर्जन बोतल कोल्ड ड्रिङ्सको म्याद सकिएको थियो। 

हिजो कारबाही गरिएको ताज बेकरीले व्यवसाय सञ्चालनका लागि लिनु पर्ने कुनै पनि दर्ता प्रमाण पत्र देखाउन नसकेको उनले बताए। बेकरीको डिफ्रिजमा म्याद सकिएका कुल्फी र आइसक्रिम भेटिएका थिए। त्यहाँबाट ६९ वटा आइसक्रिम र १ प्याकेट कुल्फी जफत गरिएको भण्डारीले बताए। 

महाराजगन्ज चोकैमा रहेको प्रिया स्वीटबाट म्याद गुज्रिएका भुजिया, सनपाप्रीलगायत खाद्यवस्तु जफत गरिएको थियो। 

‘मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापरबाही गर्नेलाई आर्थिक जरिवाना गराएका छौँ भने सरसफाइमा सुधार गर्नुपर्नेलाई समय दिएका छौँ,’ निरीक्षण अधिकृत भण्डारीले भने, ‘व्यापारीहरूले मिठाइजन्य खाद्य उत्पादनमा व्यावसायिक धर्मको पालना गर्नु पर्ने, सामाजिक दायित्व निर्वाह पर्ने देखिएको छ। कारबाही त समस्याको समाधान होइन तर अनुचित काम गर्नेलाई छोड्न सकिँदैन।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले चाडबाडका बेला आफूलाई सशक्त बनाउनु पर्ने बताउँछन्। 

आजै अनुगमनका क्रममा गौशाला चोकस्थित अन्नपूर्ण मिठाइ भण्डारमा प्रयोगका लागि राखिएका चामलमा उपभोग्य अवधि मेटिएको थियो भने म्याद सकिएका बेसनका बोराहरू थिए। मिठाइ बनाउन प्रयोग हुने केही रङ्ग, मसला र कोल्ड डिङ्सको म्याद सकिएको थियो। भण्डार सञ्चालकले चामल खरिद विल देखाउन सकेनन्।

त्यसपछि अनुगमन टोली उनले चामल खरिद गरेको बत्तीसपुतलीस्थित बालाजी ट्रेडर्समा पुगेर चामलको म्याद जाँच गरेको थियो। त्यहाँ भएका बोरामा पनि उत्पादन र उपभोग्य मिति नदेखिएपछि आयातकर्ताले दिएको विलविजकसहित कार्यालयमा उपस्थित हुने गरी छोडिएको निरीक्षण अधिकृत भण्डारीले जानकारी दिए। 

महालक्ष्मी अङ्गुरी जिरा चामल जय मातादीले आयात तथा बजार व्यवस्थापन गरेको छ।

कात्तिक १०, २०७८ बुधबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।