बिमाको न्यूनतम शुल्क नतोक्न उद्योगीको दबाब

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घले निर्जीवन बिमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धी बिमा समितिको परिपत्रमा छलफल हुनुपर्ने माग गरेको छ।
समितिले असोज ६ गते सबै निर्जीवन बिमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धी परिपत्रबाट निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको थियो।
महासङ्घले खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिदा एकाएक आयोजनाको लागत बढ्ने उल्लेख गरेको छ।
बिमा समितिको परिपत्रमा बिमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि विमितले विमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरू राखिएको महासङ्घले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
महासङ्घले यस विषयमा सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न र परिपत्र पुनरावलोकन गर्न आग्रह गरेको छ। खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मूल्य निर्धारण हुने हुदा न्यूनतम शुल्क तोक्न नहुने महासङ्घको धारणा रहेको जनाएको छ।
कात्तिक १०, २०७८ बुधबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।