मुख्यमन्त्री शाक्यले दिइन राजीनामा, पाण्डेले दाबी प्रस्तुत गर्ने

मुख्यमन्त्री शाक्यले दिइन राजीनामा, पाण्डेले दाबी प्रस्तुत गर्ने

काठमाडौँ : भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको आव्हान आजै गर्ने तयारी भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

शाक्यको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्री नियुक्तिको आव्हान हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए। 

‘शाक्यले राजीनामा दिएको पत्र प्रदेश प्रमुखले पाउनु भएको छ,’आचार्यले उकेरासँग भने,‘राजीनामा स्वीकृत गरेर आजै नयाँ सरकार गठनको आव्हान गर्ने तयारी छ।’

१०९ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ५६ जना सांसद थिए। तर, १३ जना सांसदले एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन। 

उनले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव कार्तिक ४ गते पेस गरेकी थिइन। प्रदेश सभाको आज बसेको बैठकमा प्रस्तावमा मत विभाजन हुने कार्यसूची थियो। मत विभाजन हुनुअघि नै मुख्यमन्त्री शाक्यले राजीनामा दिने घोषणा गरेकाले मत विभाजन गर्नु नपरेको प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काले जानकारी दिए। 

बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धनले प्रस्ताव गरेका छन्। प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आव्हान भएपछि गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न दाबी प्रस्तुत गर्ने तयारी गरेका छन्। 

प्रदेश सभाको ५ वर्षे कार्यकालमा भदौ २ गते अगाडिसम्म एमालेका डोरमणि पौडेल मुख्यमन्त्री थिए। तेस्रो मुख्यमन्त्रीमा पाण्डे नियुक्त हुनेछन्। 

कात्तिक १०, २०७८ बुधबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।