आबुधाबी डायलगमा श्रमिक लिने देशसँग श्रम मन्त्री श्रेष्ठको पाँच प्रस्ताव

आबुधाबी डायलगमा श्रमिक लिने देशसँग श्रम मन्त्री श्रेष्ठको पाँच प्रस्ताव

काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक लिने र दिने राष्ट्रहरू समक्ष पाँच प्रस्ताव राखेका छन्।

सोमबारदेखि जारी रहेको कार्यक्रममा १६ देशका श्रम मन्त्री तथा उच्च अधिकारीहरू सहभागी छन्। कार्यक्रममा सम्बोधन गर्दै उनले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए।

यसै गरी, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान- बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसिआर परीक्षण, निःशुल्क क्वारेनटाइन तथा आइसोलेसन सेन्टरको व्यवस्था हुनुपर्ने प्रस्ताव राखेका हुन्।

उनले कार्यक्रममा श्रमिकको निःशुल्क उपचारको व्यवस्थाको प्रस्ताव राखेका थिए।

आबुधाबी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका ६ मुलुक र मलेसियाका श्रम मन्त्रीहरू संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो।

आबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई व्यवस्थित गर्न छलफल भइरहेको छ। १२ गतेसम्म सञ्चालन हुने  डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागी छन्।

कात्तिक १०, २०७८ बुधबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।