दाेश्राे जीतसँगै सेमिफाइनल नजिक पाकिस्तान

दाेश्राे जीतसँगै सेमिफाइनल नजिक पाकिस्तान

काठमाडाैंः जारी आईसीसी टी ट्वेन्टी विश्वकपमा लगातार दुई जीत निकालेसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेकाे छ। गए राति सम्पन्न न्युजिल्याण्डविरुद्धकाे खेलमा ५ विकेटले विजय भएसँगै पाकिस्तानले अब तुलनात्मक रूपमा कमजाेर टोलीसँग मात्र प्रतिस्पर्धा गर्नुपर्ने छ।

गए राति भएकाे खेलमा पहिले ब्याटिङ गरेकाे न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएकाे थियाे। जवाफी ब्याटिङमा उत्रिएकाे पाकिस्तानकाे माथिल्लाेक्रम धरमराए पनि मध्यक्रमका ब्याट्सम्यान चलेसँगै १८ ओभर ४ बलमा मात्र ५ विकेटकाे क्षतिमा विजयी लक्ष्य हासिल गर्याे। 

पाकिस्तानका लागि ह्यारिस राउफले ४ विकेट लिए। उनी खेलकाे म्यान अफ द म्याच पनि भए। 

दुई समूह रहेकाे विश्वकपकाे सुपर १२ मा दाेश्राे समूहकाे शीर्ष स्थानमा छ पाकिस्तान। पहिलाे दुई खेलमा बलियाे प्रतिद्वन्द्वी भारत र न्युजिल्याण्डलाई हराएकाे पाकिस्तानले आगामी खेलमा तुलनात्मक रूपले कमजाेर टोलीसँग प्रतिस्पर्धा गर्नेछ। 

पाकिस्तानले अब आगामी शुक्रबार अफगानिस्तानकाे, २ नाेभेम्बरमा नामिबियाकाे र ७ नाेभेम्बरमा स्कटल्याण्डकाे सामना गर्नेछ। 

दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

कात्तिक १०, २०७८ बुधबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।