व्यक्तिगत पहुँचमा लुम्बिनी प्रदेशको बजेट विनियोजन, पत्रकार महासङ्घले जनायो आपत्ति

बजेट विनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केकाले तत्काल सच्याउन महासङ्घले माग गरेको हो।
महासङ्घका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारले निकालेको संयुक्त विज्ञप्तिमा सञ्चार क्षेत्रका लागि विनियोजन भएको बजेटमा विभेद गरिएको भन्दै आपत्ति जनाइएको छ।
विज्ञप्तिमा सबै सञ्चारमाध्यमलाई समान रूपमा सम्बोधन हुने गरी बजेट विनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमहरूलाई मात्रै तोकेरै बजेट विनियोजन गरिदा सरकारको अभिभावकीय भूमिकामाथि प्रश्न उठेको उल्लेख छ।
विधि पद्धति र आर्थिक अनुशासन विपरीत छुट्टाइएको सञ्चार सम्बन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रूपमा वितरण हुने व्यवस्था मिलाउन महासङ्घले प्रदेश सरकारलाई अनुरोध गरेको छ।
महासङ्घले पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएको प्रति आपत्ति जनाएको छ।
महासङ्घले लुम्बिनी प्रदेश सरकारले संसद्मा दर्ता गरेको ‘सञ्चार विधेयक’ तुरुन्त फिर्ता लिई संविधानको मर्म भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न भनेको छ।
कात्तिक ८, २०७८ सोमबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।