बाढी पहिराेका कारण पाँच राजमार्ग अवरुद्ध, चार महिनामा पनि सञ्चालन भएन मार्तडी-काेल्टी सडक

काठमाडाैंः बाढी तथा पहिराेका कारण पाँच वटा राजमार्ग अवरुद्ध भएकाे छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पाँच राजमार्ग हाल बाढी तथा पहिराेका कारण प्रभावित बनेका हुन्।
गृह मन्त्रालयका अनुसार अवरुद्ध राजमार्गमा भीमदत्त राजमार्ग, जयपृथ्वी राजमार्ग, चामे-बेसीशहर, मार्तडी-काेल्टी र साँफे-मार्तडी सडकखण्ड रहेका छन्। यीमध्ये मनाङकाे चामे-बेसीशहरका विभिन्न स्थानमा वर्षा र ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएकाे हाे।
यस्तै भीमदत्त राजमार्ग पहिराेका कारण अवरुद्ध भएकाे हाे भने जयपृथ्वी राजमार्ग बाढीका कारण अवरुद्ध बनेकाे हाे।
यता बाजुराकाे साँफे-मार्तडी राजमार्ग पहिराेका कारण गत असार २७ गते नै अवरुद्ध भए पनि हालसम्म सञ्चालन हुन सकेकाे छैन। बाजुराकै मार्तडी-काेल्टी राजमार्ग पनि नदीले कटान गरेर गत असार ४ गते पूर्ण रूपमा क्षति भएकाे थियाे।
राजमार्ग अवरुद्ध भएकाे चार महिना कटिसक्दा पनि हालसम्म सुचारु हुन सकेकाे छैन।
कात्तिक ७, २०७८ आइतबार १०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।