पाटनमा भवानी र खड्ग जात्रा सम्पन्न

पाटनमा भवानी र खड्ग जात्रा सम्पन्न

ललितपुरः लिच्छविकालीन मूछें (आगम घर) सम्बन्धित मनमानेश्वरी भवानी जात्रा तथा खड्ग (पाय:) जात्रा यस वर्ष सम्पन्न भएकाे छ। परम्पराअनुसार कोजाग्रत पूर्णिमामा विशेष पूजापश्चात प्रसाद ग्रहण गरी जात्रा सम्पन्न भएकाे हाे।

पाटन दरबारमा अवस्थित लिच्छविकालीन मनमानेश्वरी देवीलाई कौलाथ्व: त्रयोदशी सोमबारका दिन मूलचोकमा अवस्थित मूछें माजुको देवालयबाट शक्तिको प्रतीक तीन खड्ग मूछें (द्यो: थाहाँ बिज्याकेगु) भित्र्याएपछि चतुर्दशी र पूर्णिमाका दिन ठेचोस्थित नवदुर्गा देवीको अन्तिम नाचसँगै यस वर्षको मोहनी नख: अर्थात दशैंको पनि समापन भएको छ। 

मनमानेश्वरीलाई नेपालका लिच्छवि राजा मानदेवका ईष्टदेवता मानिन्छ। यिनै मनमानेश्वरी देवी सम्बन्धित पाटनको प्रख्यात पाय: जात्रामा आकाश, धरती र पाताल उपर विजयको प्रतीक स्वरूप तीन खड्गहरू राखिने मूल गुठियार साम्राज्यदेव श्रेष्ठले जनाए।

महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न प्रसाद ग्रहणमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन प्रदेश सांसद् शोभा शाक्य, ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, वडाध्यक्षहरू वडा ५ का विकासमान श्रेष्ठ, वडा ९ का राजु महर्जन, ज्यापू समाजका अध्यक्ष तीर्थलाल महर्जनलगायतको उपस्थिती रहेको थियाे।

कात्तिक ५, २०७८ शुक्रबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।