राष्ट्र बैङ्कको हस्तक्षेपपछि ११ प्रतिशत कटेको ब्याजदर ९ मा झर्‍यो, बचतकर्तालाई घाटा

राष्ट्र बैङ्कको हस्तक्षेपपछि ११ प्रतिशत कटेको ब्याजदर ९ मा झर्‍यो, बचतकर्तालाई घाटा

राष्ट्र बैङ्कले हस्तक्षेप गर्दै  गत मङ्गलवार राति बैङ्क तथा वित्तीय संस्थाहरूलाई ३ बुँदे निर्देशन जारी गरेको थियो। निर्देशनबाट निक्षेपको ब्याजदर गत असोज महिनाको प्रकाशित दरमा १० प्रतिशत तल वा माथि गर्न मात्रै पाइने व्यवस्था गरेको थियो। 

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई कात्तिक महिनाको लागि प्रकाशन गरेको ब्याजदर खारेज गरी नयाँ दर प्रकाशन गर्न पनि निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार अधिकांश बैङ्कले मुद्दती निक्षेपमा अधिकतम ९.३६ प्रतिशत दिने सूचना प्रकाशित गरेका छन्। 

बैङ्कहरूले वेबसाइट मार्फत प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार नेपाल बङ्गलादेश, कुमारी, हिमालयन,  सिद्धार्थ, प्राइम, एनएमबी, एनआईसी एसिया,  ग्लोबल आईएमई, मेगा, नविल, एनसीसी, सिभिल, बैङ्क अफ काठमाडू र सेन्चुरी बैङ्कले मुद्दती निक्षेपमा समान ९.३६ प्रतिशत व्याज दिने सूचना प्रकाशित गरेका छन्। 

नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी बैङ्कले भने ९.३५ प्रतिशत व्याज दिने सूचना सार्वजनिक गरेका छन्। माछापुच्छ्रे बैङ्कले ९.१२ प्रतिशत, सानिमा बैङ्कले ९.०६ प्रतिशत, कृषि विकास बैङ्कले ८.८५ प्रतिशत, नेपाल एसबीआई बैङ्कले ८.८ प्रतिशत, सिटिजन्स बैङ्कले ८.८ प्रतिशत, प्रभु बैङ्कले ८.५७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले ८.३६ प्रतिशत, नेपाल बैङ्कले ८.३६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले ७.५ प्रतिशत व्याज दिने सूचना निकालेका छन्।

सनराईज बैङ्कले ९.०६ प्रतिशत र एभरेस्ट बैङ्कले ८ प्रतिशत व्याज दिने भएका छन्। 

 

कात्तिक ४, २०७८ बिहीबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।