सुदूरपश्चिम प्रदेश: बाढी पहिराेबाट ३० जनाकाे मृत्यु, २४ बेपत्ता

सुदूरपश्चिम प्रदेश: बाढी पहिराेबाट ३० जनाकाे मृत्यु, २४ बेपत्ता

धनगढीः अविरल वर्षापछिकाे बाढी तथा पहिराेमा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङमा आठ र कैलालीमा एक जनाको मृत्यु भएको हाे।

यस्तै विपद्मा परी घाइते हुने १६ जना पुगेका छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङमा एक गरी १६ जना घाइते भएका छन्। बझाङमा २१ सहित बैतडी, कैलाली र डोटी जिल्लामा एक/एक गरी २४ जना बेपत्ता भएका छन्।

बझाङको थलारामा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ। उक्त ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएको छ। पहिरो गएको ठाउँबाट दुई जनाको शव निकालिएको छ।

पहिरोका कारण बझाङमा १२, डोटीमा तीन र डडेल्धुरामा दुई गरी १७ घरमा पूर्णरुपमा क्षति पुगेको छ।  विपदमा परी बाजुरा, डोटी, डडेलधुरा, बझाङ, जिल्लामा पशु चौपाया पनि मरेका छन्।

यता कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानका कारण विस्थापित भएका परिवारलाई नेपाली सेना र प्रहरी टोलीद्वारा सुरक्षित स्थानमा सारिएको छ। कैलालीको जानकी गाउँपालिका–९ को वन क्षेत्रमा कर्णालीको बाढीका कारण फसेका प्रेम चौधरी र रामदयाल चौधरीको नेपाली सेनाको हेलिकोप्टरबाट बुधबार सकुशल उद्धार गरिएको छ।

कात्तिक ४, २०७८ बिहीबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।