बाढी तथा पहिराे प्रभावित क्षेत्रकाे अवलाेकनमा जाँदै प्रधानमन्त्री

बाढी तथा पहिराे प्रभावित क्षेत्रकाे अवलाेकनमा जाँदै प्रधानमन्त्री

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवा बाढी तथा पहिराे प्रभावित क्षेत्रमा जाने भएका छन्। आज दिनभर उनी कर्णाली र सुदूरपश्चिम प्रदेशका बाढी तथा पहिराे प्रभावित क्षेत्रकाे अवलाेकनमा रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ।  

देउवा डडेलधुराका जनप्रतिनिधि समेत हुन्। उनीसँगै पर्यटनमन्त्री प्रेम आले पनि अवलाेकनमा निस्कने भएका छन्। आले डोटीका जनप्रतिनिधि हुन्। 

 

यस्तै अर्थमन्त्री जनार्दन शर्मा,  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ जान लागेको हो।

नेपाली सेनाकाे हेलिकप्टरमार्फत देउवा आज सुर्खेतहुँदै दिपायल, बझाङ जाने कार्यक्रम छ। बझाङकाे थलरामा अवलाेकन गरेपछि उनी बझाङकै चैनपुर पुगेर ब्रिफिङ लिने कार्यसूची रहेकाे छ। त्यहाँबाट उनी बैतडी पुगेर अवलाेकन गर्नेछन् भने त्यसपछि उनकाे यात्रा गृह जिल्ला डडेलधुराकाे रहेकाे छ। डडेलधुरामा ब्रिफिङ लिएपछि उनकाे यात्रा  जाेगबुढाहुँदै कञ्चनपुरकाे महेन्द्रनगरतर्फ रहेकाे छ। 

देउवाले दाेधारा चाँदनी र धनगढीकाे अवलाेकनपश्चात भाेलि धनगढीबाट काठमाडाैं फर्किने भ्रमण तालिका रहेकाे छ।

बेमाैसमी वर्षाका कारण हालसम्म ७७ जनाकाे मृत्यु र २६ जना बेपत्ता भएका छन्। यस्तै २२ जना घाइते भएकाे गृह मन्त्रालयले जनाएकाे छ।    

कात्तिक ४, २०७८ बिहीबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।