बैङ्कहरूको ब्याज वारमा राष्ट्र बैङ्कको हस्तक्षेप

काठमाडौँ : बैङ्कहरू ब्याज बढाउने प्रतिस्पर्धामा उत्रिएपछि नेपाल राष्ट्र बैङ्कले हस्तक्षेप गर्दै तीन बुँदे निर्देशन जारी गरेको छ। तर सो निर्देशन कार्तिक १ र २ गते जम्मा भएको निक्षेपमा भने लागु हुने छैन।
बैङ्क तथा वित्तीय संस्थाहरू निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) मिलाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि बैङ्कले हस्तक्षेप गर्दै मङ्गलवार बेलुका तीन बुँदे निर्देशन जारी गरेको थियो।
निर्देशनमा अघिल्लो महिना प्रकाशित ब्याजदरको १० प्रतिशतले मात्रै बढाउन निर्देशन दिएको छ।
‘बैङ्क तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा १० प्रतिशतका दरले मात्र पर्वत गर्न सक्नेछन्,’ राष्ट्र बैङ्कले जारी गरेको निर्देशनमा उल्लेख छ।
कात्तिक महिनाको लागि बैङ्कहरूले प्रकाशित गरेको ब्याजदर असोज महिनाको भन्दा ३० प्रतिशतसम्मले बढाएका थिए।
संस्थागत मुद्दती निक्षेप (बोलकबोल समेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने निर्देशनमा उल्लेख छ।
बैङ्कहरूले कात्तिक महिनाको लागि प्रकाशित गरेको ब्याजदर राष्ट्र बैङ्कले गरेको १० प्रतिशतको सीमामा कायम गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमा प्रकाशित गर्नु पर्ने र यसरी संशोधन गरिएको नयाँ ब्याजदर कात्तिक ५ गतेभित्रमा दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने राष्ट्र बैङ्कको निर्देशनमा उल्लेख छ।
कात्तिक ३, २०७८ बुधबार १४:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।