यति ठूलाे प्राकृतिक विपत्तिमा पनि सरकारले सराेकार राखेन: नेता चाैधरी

यति ठूलाे प्राकृतिक विपत्तिमा पनि सरकारले सराेकार राखेन: नेता चाैधरी

बुटवलः लुम्बिनी प्रदेशका एमाले संसदीय दलका उपनेता बैजनाथ चाैधरीले यति ठूलाे प्राकृतिक विपत्तिमा पनि प्रदेश सरकारले सराेकार नराखेकाे बताएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई आज एक ज्ञापनपत्र लेख्दै उनले यस्ताे बताएका हुन्। 

'पहिरोका कारण गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रुकुमलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् जसकाकारण दशैंमा गाउँ फर्किएका थुप्रै सर्वसाधारण आफ्नो काममा फर्किन सकेका छैनन्', चाैधरीले भने, 'यति ठूलो प्राकृतिक प्रकोप सिर्जना हुंदा पनि प्रदेश सरकारले अहिलेसम्म कुनै सरोकार नराखेको देखेर हामी आश्चर्य चकित भएका छौं।'

यस्तै उनले माैसम पूर्वानुमान महाशाखाले तीन दिनअघि नै भीषण वर्षा हुने र ठूलाे क्षति हुने बताए पनि प्रदेश सरकारले हुन सक्ने सम्भावित क्षतिकाे आँकलन नगरी वेवास्ता गरेकाे आराेप लगाए। 

'गाउँगाउँका किसानहरूलाई पूर्वसचेतना दिन सक्ने अवस्था विद्यमान थियो। सरकारले समेत पूर्व तयारीहरू गर्न सक्ने समय प्रशस्त थियो। तर प्रदेश सरकारले पटक्कै वास्ता नगरेका कारण आम सर्वसाधारणले ठूलो क्षति व्यहोर्नु परेको छ', उनले भने।

कात्तिक ३, २०७८ बुधबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।