लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए। उनले भने, “काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले  क्षति पुर्याएको छ।”

यसअघि जिल्लाका किसानले धान रोप्ने समयमा मल खाद्य नपाएर सास्ती बेहोरेका थिए। अहिले जसाेतसाे पाकेको बाली भित्र्याउने समयमा पानीले नोक्सान गरेपछि उनीहरू थप मारमा परेका हुन्।

“काटेको धान पानीमा डुब्यो भने दुई÷तीन दिनमा टुसा उम्रिन्छ र खान नमिल्ने हुन्छ। अन्य आम्दानीको स्रोत छैन। धान खेतीले गुजारा चलेको थियो। पानीले सबै चौपट गरायो,” हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले गुनासो गरे।

यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियाे। जिल्लामा यस वर्ष एक लाख ७६ हजार मेट्रिक टन धान फल्ने अनुमान गरिएको थियो। गत वर्षभन्दा यस वर्ष करिब १० प्रतिशत बढी धान फल्ने अनुमान केन्द्रले गरेको थियो। लगातारको वर्षाले धान उत्पादन केही घट्न भएकाे छ। 

पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ। धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ। धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको हरिवन–५ का उमेश महतोले गुनासो गरे।

लगातारको वर्षाका कारण पूर्व पश्चिम राजमार्गका अधिकांश कलभर्टमा पानीको बहाव बढेको र यसबाट सवारी साधन आवतजावत गर्न समस्यामा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कात्तिक २, २०७८ मंगलबार १३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।