पोखरामा विश्वकै भिरालाे ‘सुपरम्यान जिपलाइन’ सुरु 

पोखरामा विश्वकै भिरालाे ‘सुपरम्यान जिपलाइन’ सुरु 

जिपलाइन विश्वमै ख्याती प्राप्त अमेरिकी ब्राण्ड ‘जिपफ्लायर’सँग आवद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले सुरुआत गरेको हो। भिरालो र छिटो जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरु गरिएको संस्थाका प्रमुख सञ्चालन अधिकृत(चिफ अपरेटिङ अफिसर) दिनेश महर्जनले जानकारी दिए।

उनका अनुसार सन् २०१० मा नेपालमै पहिलो पटक जिपलाइनको सुरुआत गरेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकपछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन थालेको हो। सुपरम्यान जिपलाइन सुतेर गरिन्छ।

“समुद्री सतहदेखि एक हजार पाँच सय ५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरी छ”, उनले भने, “यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अन्य नभएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रूपमा दर्ता गर्न आवेदन दिएका छौं।”

विश्वकै लामोमध्येको एक हजार आठ सय ५० मिटर दूरीको सुपरम्यान जिपलाइनमा पार गर्न  औसत १४० किमीप्रति घण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ। जिपलाइनमा जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारी साधनमार्फत करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा शहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न पाउछन्।

“जिपलाइनलाई सुरक्षित गराउनका लागि हरेक दिन सबै उपकरणको सुरक्षा जाँच गरिने र हरेक महिना मर्मत गरिन्छ”, उनले भने,“हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राविधिकबाट सुरक्षा परीक्षण(सेफ्टी अडिट) गराउने गर्दछौं।”

नेपालीका लागि ६ हजार ५०० र विदेशीका लागि आठ हजार ५०० कायम गरिएको सुपरम्यान जिपलाइनमा फोटो भिडियो र टिसर्ट प्याकेज लिन अतिरिक्त एक हजार ५०० शुल्क राखिएको छ। 

जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रिजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था पनि मिलाइएको छ।

कात्तिक २, २०७८ मंगलबार १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।