महाकालीमा याे वर्षकै उच्च बहाव : २०० घर डुबानमा, वनवासा पुलबाट आवागमनमा राेक

कञ्चनपु्रः लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा बाढी गाउँ पस्न थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए।
“निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग नदीले कटान गरिरहेको छ”, प्रवक्ता न्यौपानेले भने, “पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ।”
यस्तै खल्ला मसेटी क्षेत्रमा पनि महाकाली नदी गाउँ पसेको प्रहरीले जनाएको छ। उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ। महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए।
उनले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको जानकारी दिए। “यहाँ करिब ३०० घर प्रभावित भएका छन्”, उनले भने, “धेरैलाई सुरक्षित स्थानमा सारिएको छ।”
नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन्। लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ।
आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीको बहाव उच्च भएको हाे। महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ।
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बाढीको पानी पसेको छ। दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन्।
रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बाढीको पानी पसेको क्षेत्रमा उद्धारमा खटिएको छ।
“रातिदेखि नै उद्धारको कार्यमा खटिएका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन। पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्षति पुगेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ।”
भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन्।
महाकाली नदीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा समेत रोक लगाइएको छ। नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी साधन र दुई लाख क्युसेक नाघे पछि पूरै आवतजावत बन्द गर्ने गरिएको छ।
जिल्लाको मध्य माग भएर बग्ने दोदा(मछेली) नदीको बहावसमेत उच्च भएको छ। नदीको सुचना अबलोकन कर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेतावनी तह पार गरेको छ।
कात्तिक २, २०७८ मंगलबार ०९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।