ब्याज दर बढाउने प्रतिस्पर्धामा बैङ्क : मर्जरको प्रक्रियामा रहेको हिमालयनले ब्याजदर बढाउँदा इन्भेष्टमेन्टले बढाएन

काठमाडौँ : तरलता अभाव बढेपछि वाणिज्य बैङ्कहरूले बचतकर्तालाई आकर्षित गर्न बचत खाता र मुद्दती खाताको ब्याजदर बढाएका छन्। व्याज दर बढाउने प्रतिस्पर्धामा एक वर्षे मुद्दती निक्षेपको ब्याजदर ११.१० प्रतिशत पुगेको छ।
अधिकांश बैंकहरुले ब्याज दर बढाएका छन् भने केही बैङ्कहरूले पुरानै ब्याज दरलाई निरन्तरता दिएका छन्। केहीले भने ब्याज दर घटाएका पनि छन्।
नेपाल इन्भेष्टमेन्ट बैङ्क, एभरेस्ट बैङ्क र ग्लोबल आइएमई बैङ्कले ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नेपाल बैङ्कले पनि मुद्दती निक्षेपमा दिने ब्याजदरमा कुनै परिवर्तन गरेको छैन।
नेपाल इन्भेष्टमेन्ट बैङ्कले ब्याजदर नबढाए पनि मर्जरको तयारीमा रहेको हिमालयले भने ब्याजदर बढाएको छ। उसले हिमालयन बैङ्कले मुद्दतीमा १०.५० प्रतिशत ब्याजदर तोकेको छ। बचतमा ६.७७ देखि ७.६७ सम्म ब्याजदर दिने घोषणा गरेको छ।
कसले कति पुर्याए ?
सानिमा बैङ्कले कात्तिकदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएर ९.५१ प्रतिशतबाट ८.०१ प्रतिशत बनाएको छ। सनराइज बैङ्कले पनि एक वर्षको मुद्दती निक्षेपको ब्याजदर घटाएर ८.५० प्रतिशत बनाएको छ।
एनआइसी एसिया बैङ्कले कात्तिक महिनामा एक वर्षे मुद्दती निक्षेपमा ११.१० प्रतिशत ब्याज दिने भएको छ। बैङ्कले एक महिनामै मुद्दती निक्षेपको ब्याजदर २.५ प्रतिशत विन्दुले बढाएको छ।
सिटिजन्स बैङ्कले एक वर्षको मुद्दती निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर तोकेको छ। असोज महिनामा ८ प्रतिशत थियो। बचतमा ४.७६ देखि ६.०६ प्रतिशत ब्याजदर दिने भएको छ।
मेगा बैङ्कले एक वर्ष मुद्दती निक्षेपमा ८.७७ प्रतिशत ब्याजदर दिने भएको छ। असोज महिनामा ब्याजदर ९ प्रतिशत थियो।
एनबी बैङ्कले एक वर्षको मुद्दती निक्षेपमा १०.२८ प्रतिशत ब्याजदर दिने भएको छ। बचतमा ५.२८ प्रतिशत दिने छ।
सेन्चुरी बैङ्कले मुद्दतीमा ९.७५ प्रतिशत ब्याजदर दिने भएको छ भने बचतमा ५.२५ देखि ७.२५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।
लक्ष्मी बैङ्कले मुद्दतीमा ११.०५ प्रतिशत र बचतमा ६.०५ देखि ६.२५ प्रतिशत ब्याज दिने भएको छ। एनसीसी बैङ्कले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने भएको छ। एसबिआई बैङ्कले एक वर्षे मुद्दती निक्षेपमा ७.०६ प्रतिशत ब्याजदर पुर्याएको छ।
सिद्धार्थ बैङ्कले एक वर्षको मुद्दती निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिने भएको छ। माछापुच्छ्रे बैङ्कले मुद्दती निक्षेपको ब्याजदर ९.५० प्रतिशत पुर्याएको छ।
बैङ्क अफ काठमान्डुले ९.५७ प्रतिशत ब्याजदर दिने भएको छ। प्राइम बैङ्कले ब्याजदर ९.२५ प्रतिशत पुर्याएको छ। कुमारी बैङ्कले मुद्दती निक्षेपमा ९.८१ प्रतिशत ब्याजदर दिने भएको छ।
एनएमबि बैङ्कले एक वर्षको मुद्दती निक्षेपमा ९.५७ प्रतिशत ब्याजदर दिने भएको छ। नबिल बैङ्कले समेत एक वर्षको मुद्दती निक्षेपमा ब्याजदर बढाएर ८.७६ प्रतिशत पुर्याएको छ। असोज महिनामा ८.०१ प्रतिशत ब्याजदर थियो।
सिभिल बैङ्कले एक वर्षे मुद्दती निक्षेपमा १०.११ प्रतिशत ब्याजदर दिने भएको छ। प्रभु बैङ्कले १ वर्षे मुद्दती निक्षेपको ब्याजदर ८.२५ प्रतिशत पुर्याएको छ।
राष्ट्रिय वाणिज्य बैङ्कले मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ। कृषि विकास बैङ्कले १ वर्षे अवधिको मुद्दती निक्षेपमा १.७५ प्रतिशत ब्याजदर पुर्याएको छ।
राष्ट्रिय वाणिज्य बैङ्कले मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ। स्ट्यान्ड चार्टर्ड बैङ्कले एक वर्षे मुद्दती निक्षेपमा ७.५० प्रतिशत ब्याजदर बनाएको छ।
कात्तिक १, २०७८ सोमबार १७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।