आइपिएलको उपाधि चेन्नई सुपर किङसलाई

आइपिएलको उपाधि चेन्नई सुपर किङसलाई

काठमाडौँ :   इन्डियन प्रिमियम लिग (आइपिएल) क्रिकेटको १४ औँ संस्करणको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ।

दुबईमा भएको खेलमा कोलकात्ता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथो पटक आइपिएलको उपाधि जितेको हो। यसअघि चेन्नईले सन् २०१०, २०११ र २०१८ मा आइपिएलको उपाधि जितेको थियो।

कोलकात्ताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो। चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन बनाएका थिए। मोइन अलीले ३७, ऋतुराज गाइक्वाडले ३२ र रोविन उथप्पाले ३१ रन बनाए।

बलिङतर्फ कोलकात्ताका सुनिल नारिनले दुई र शिवम् मावीले एक विकेट लिए।

१९३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङका लागि मैदानमा  उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन मात्रै बनायो।

कोलकात्ताका शुभमन गिलले ५१, वेङ्कटेश अय्यरले ५०, शिवम् मावीले २० र लोकी फर्गुसनले १८ रन जोडेका थिए। चेन्नईका शार्दूल ठाकुरले तीन, रवीन्द्र जडेजा र जोस हेजलउडले दुई–दुई र दीपक चाहर र ड्वाने ब्राभोले एक–एक विकेट लिएका थिए।

असोज ३०, २०७८ शनिबार ०६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।