भारतीय सहायक प्रशिक्षकले भने : नेपाल विरुद्धको फाइनल खेल कठिन

एजेन्सी : भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले नेपाल विरुद्धको साफ च्याम्पियनसिप फाइनल खेल कठिन रहेको बताएका छन्।
शनिवार हुने फाइनलअघि शुक्रवार प्री-म्याच कन्फरेन्समा पत्रकारहरूसँग कुरा गर्दै वेंकटेशले नेपालको टिम कन्फिडेन्स र आत्मबल बलियो रहेको बताएका हुन्।
'फाइनल पुगेकोमा हामी खुसी छौँ। हाम्रा केटाहरू सकारात्मक ऊर्जासहित तयार छन्। नेपालले समूह चरणमा राम्रो नजिता सहित खेलेको थियो। फाइनल खेल हाम्रा लागि कठिन छ।'
वेंकटेशले समूह चरणका खेलहरूमा आफूहरूले गल्ती गरेको बताउँदै फाइनलमा पुराना गल्ती नदोहोर्याउने दाबी गरे।
उनले भारतीय टिम कन्फिडेन्ट रहेको तर ओभरकन्फिडेन्टबाट जोगिने बताउँदै फाइनल नयाँ खेल खेल्ने दाबी गरेका थिए।
'हामी कन्फिडेन्ट छौँ तर ओभरकन्फिडेन्ट होइन,' उनले भने, 'हामी आफ्नो योजनामा अडिग छौँ। भोलि नयाँ खेल हुनेछ। हामीले सुरुवातका दुई खेलमा बराबरी खेलेर त्यसबाट पाठ सिक्यौँ। हाम्रो टोलीले पछिल्ला दुई खेलमा राम्रो गरेकाले उत्साहित छौँ।'
मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा शनिवार फाइनल खेल हुँदैछ। फाइनल नेपाली समयअनुसार शनिवार राति पौने ९ बजे सुरु हुँदैछ। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो।
असोज २९, २०७८ शुक्रबार २०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।