मोतीपुरको जग्गा कब्जामा भुमाफियाको चलखेल भएको सुरक्षा बैठकको निष्कर्ष ,चार सुरक्षाकर्मीलाई काठमाडौँ ल्याइयो

आइतबार ४ जनाको ज्यान जानेगरी भएको घटनाबारे समीक्षा गर्न गृह मन्त्रालयमा बसेको बैठकले वास्तविक सुकुमबासी भन्दा पनि विभिन्न जिल्लाबाट आएकाहरूले सो क्षेत्रमा ठहर बनाएर सरकारी जग्गा कब्जाको प्रयास भएको निष्कर्ष निकाल्दै सो जग्गा अतिक्रमण गर्न नदिन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।
'पूर्वको झापादेखि सुदूरपश्चिमका कैलालीसम्मका व्यक्तिहरूलाई सरकारले जग्गा दिन्छ भन्ने भ्रम फैलाएर ल्याइएको देखियो,' बैठकमा भएको छलफलबारे जानकारी दिँदै स्रोतले भन्यो' वास्तविक जग्गा नभएकाहरू भन्दा पनि सर्वसाधारणलाई प्रलोभनमा पारेर जग्गा कब्जा गर्न समूह सक्रिय रहेको देखियो।'
झडप भएको क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाउन बैठकले निर्देशन दिएको छ। बैठकमा गृह मन्त्री बालकृष्ण खाँण सहित गृह सचिव टेक नारायण पाण्डे, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारी लगायतका सहभागी थिए।
चार सुरक्षाकर्मीलाई काठमाडौँ ल्याइयो
औद्योगिक क्षेत्र अतिक्रमण गरी बस्ने र प्रहरीबिच भएको झडपमा घाइतेमध्ये स्वास्थ्य अवस्था गम्भीर भएका ४ सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ। नेपाल प्रहरीका जवान जयकुमार थारु र गेहराज पुन मगर तथा सशस्त्र प्रहरीका सहायक हवलदार खुसीराम चौधरी र हवलदार तिलक धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याएर सशस्त्र प्रहरी अस्पताल र नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ।
असोज २५, २०७८ सोमबार १३:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।