लगानी बोर्ड बैठक : ७३ अर्ब बराबरको लगानी स्वीकृत, माथिल्लो कर्णाली परियोजना अध्ययन गर्न समिति गठन

काठमाडौँ : लगानी बोर्डले ७३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुई वटा जलविद्युत परियोजना निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो।
लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत् परियोजना रहेको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए।
त्यस्तै बोर्डले सङ्खुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको छ।
बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ।
समितिमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रूपमा रहेका छन्।
बैठकले लगानी बोर्डको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट् सिमेन्ट र माथिल्लो त्रिशूली १ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् खपत वृद्धि गर्ने सम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रूपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिएका छन्।
असोज २३, २०७८ शनिबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।