दशैंका लागि मुस्ताङबाटै १२ हजार भेँडा–च्याङ्ग्रा निकासी

अघिल्ला वर्ष २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए। यस वर्ष निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए।
“स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५ सय ६० पुगेको छ, व्यापारीले सङ्ख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका छन्”, उनले भने। पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै सङ्ख्या टिपाउने गरेको पाइएको छ।
कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा र थोरै सङ्ख्यामा भेँडा निकासी भएका छन्।
यता तिब्बतबाट भेँडा च्याङ्ग्रा नआउने भएपछि व्यापारीले गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा पाँचदेखि १० हजारसम्म मूल्य बढाएका छन्। जोमसोम पुगेर दुई सय च्याङ्ग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँचदेखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताए।
असोज २२, २०७८ शुक्रबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।