बागमती प्रदेश सरकार : असोज २४ गते मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

काठमाडौँ : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने भएकी छन्।
विश्वासको मत लिने प्रस्ताव पेस गर्न प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले असोज २४ गते हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत भदौ ११ गते शुक्रबार प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गरिएको थियो। प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेसँगै शाक्य नेतृत्वको सरकार अल्पमत परेको छ।
सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ। वाग्मती प्रदेशमा हाल १०९ जना सदस्य छन्। सरकार टिकाउन ५५ प्रदेशसभा सदस्य आवश्यक पर्छ।
प्रदेशसभामा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा एकीकृत समाजवादीको १३ र स्वतन्त्र एक जना गरी विपक्षी गठबन्धनमा ५९ मत छ।
असोज २०, २०७८ बुधबार २१:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।