प्रदेश नं २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

धनुषाः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।
गत असोज १३ गते मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेश सभा अधिवेशन आह्वान गर्ने निर्णय गरेका थिए।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ। गत भदौ ९ गते जसपा नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्त्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भएकाे थियाे।
अहिले प्रदेश नं २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार छ भने नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ। यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेश सभाका एक सय ४ सदस्यमध्ये दुईतिहाइभन्दा बढीको बहुमत छ।
प्रदेश सभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका ८ र रिजवान अन्सारी नेतृत्त्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले बताए।
लोसपा र नेकपा (एमाले)ले मुख्यमन्त्री राउतलाई विश्वासकाे मत नदिने बताइएकाे छ।
असोज २०, २०७८ बुधबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।