साफ च्याम्पियनसिप: नेपाल शीर्ष स्थानमा, फाइनल खेल्ने सम्भावना बढ्याे

साफ च्याम्पियनसिप: नेपाल शीर्ष स्थानमा, फाइनल खेल्ने सम्भावना बढ्याे

काठमाडाैंः माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियाेगितामा नेपाल शीर्ष स्थानमा पुग्न सफल भएकाे छ। केही समययता परिवर्तित खेल प्रस्तुत गर्न थालेकाे नेपाली टाेलीले साफ च्याम्पियनसिप जित्ने सुनाैलाे अवसर प्राप्त गरेकाे छ। 

समूह चरणकाे पछिल्लाे दुई खेलमा विजयी भएकाे नेपाल हाल अंक तालिकामा ६ अंकसहित शीर्ष स्थानमा छ। नेपालले हालसम्म प्रतियाेगितामा ४ गाेल गरेकाे छ भने नेपालविरुद्ध जम्मा २ गाेल भएकाे छ। 

केही समयअघि नेपाली टाेलीले गाेल गर्नै नसक्ने भन्दै आलाेचना हुने गरेकाेमा साफ च्याम्पियनसिपकाे पहिलाे दुई खेलले नै यसकाे खण्डन गरेकाे छ। नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीकाे नयाँ खेलाडीलाई मैदान प्रवेश गराउने र आक्रामक खेल पस्किने रणनीतिले नेपाली टाेली सफल हुँदै गएकाे धेरैकाे बुझाइ छ। 

आयाेजक राष्ट्र माल्दिभ्सविरुद्धकाे खेलमा नेपालले माल्दिभ्सकाे तुलनामा बल पाेजेसन कायम राख्न नसके पनि गाेल भने गरेकाे थियाे। मनिष डाँगीले गरेकाे १ गाेलकाे मद्दतले नेपाल पहिलाे खेलमा विजयी भएकाे थियाे। 

यस्तै साेमबार राति भएकाे श्रीलंकाविरुद्धकाे खेलमा नेपाल ३-२ गोलअन्तरले विजयी भयाे। सुमन लामा, अन्जन विष्ट र आयुस घलानले समान १-१ गाेल गरेका थिए। श्रीलंकाकाे लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले गोल फर्काएका थिए।

माल्दिभ्स र श्रीलंकाविरुद्धकाे जीतले नेपाल अंक तालिकाकाे शीर्ष स्थानमा त छ नै लगातारकाे जीतसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ। प्रतियाेगितामा यस पटक जम्मा ५ टाेलीकाे सहभागिता रहेकाे छ। सबै टाेलीले लिग चरणमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। र अंक तालिकामा शीर्ष २ मा रहने टाेलीले फाइनलमा भिड्ने छन्।    

असोज १९, २०७८ मंगलबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।