सङ्खुवासभा सामूहिक हत्याका ४ अभियुक्त जेल चलान, एकलाई सुधार गृह पठाइयो

सङ्खुवासभा सामूहिक हत्याका ४ अभियुक्त जेल चलान, एकलाई सुधार गृह पठाइयो

काठमाडौँ :  सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको  सामूहिक हत्याकाण्डका अभियुक्तहरू पुर्पक्षका लागि जेल चलान भएका छन्।

परिवारै सखाप हुने गरी भदौ २१ गते भएको घटनाका पाँच अभियुक्तमध्ये सङ्खुवासभा जिल्ला अदालतले ४ जनालाई जेल चलान गरेको छ भने एक नाबालकलाई सुधार गृह पठाउन आदेश दिएको हो।

भदौ २१ मा उम्लिएका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, आठ वर्षका नाति विपिन कार्की र पाँच वर्षीय नातिनी गोमा कार्कीको चिर्पट तथा चक्कु प्रहार गरी हत्या भएको थियो ।


सुरुमा कार्कीका भतिज लोकबहादुर कार्की मात्र पक्राउ परेकोमा पछि थप चार जना समातिएका थिए।

असोज १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। थुनछेक बहस सकिएपछि अभियुक्तमध्ये लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश भयो भने घटनाका पाँचौँ अभियुक्तको उमेर १७ वर्ष भएकाले उनलाई बाल सुधार गृह पठाउने आदेश आयो।

असोज १९, २०७८ मंगलबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।