बुद्ध एयर अनुसन्धानको निष्कर्ष : विमानमा हैन, चालक दलको त्रुटि ,सरकारी रिपोर्ट आउन बाँकी

बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सोमबार बुझाएको प्रतिवेदनमा जहाजमा कुनै समस्या नभएको उड्नुभन्दा पहिले 'क्रु टिम'ले जहाजको ‘इन्डिकेटर’ को सङ्केत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।
प्रतिवेदनमा क्रु टिमले बाहिरी सूचनामा मात्र निर्भर हुँदा समस्या आएको उल्लेख गरेको छ। काठमाडौँमा सफल ल्यान्ड गराएका क्याप्टेन एजी शेर्पाको टिमले जहाजमा पहिले नै समस्याको सङ्केत गर्दा याद नगरेको प्रतिवेदनमा उल्लेख छ।
बुद्ध एयरले क्याप्टेन अनन्त डङ्गोलको संयोजकत्वमा गठन गरेको छानबिन समितिले उड्नुभन्दा पहिले ककपिट भित्र देखिएको इन्डिकेटरलाई क्रु टोलीले ध्यान नदिएर ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो' निष्कर्ष निकालेको छ।
चालक दलका ४ सदस्यसहित ७७ यात्रु रहेको जहाज विराटनगरमा ल्यान्ड हुन नसकेपछि काठमाडौँ फर्किएर २ घण्टा काठमाडौँको आकाशमा घुमेर इन्धन घटाएपछि विमानस्थलमा सम्भावित दुर्घटनाको तयारीपछि ल्यान्ड भएको थियो।
विमान सफल ल्यान्ड भएपछि यात्रुहरूको ज्यान जोगाएको भन्दै चालक दलको प्रशंसा भएको थियो। तर आन्तरिक छानबिनले भने उनीहरूकै त्रुटि देखाएको हो। नागरिक उड्डयन प्राधिकरणले गठन गरेको समितिको प्रतिवेदन भने आउन बाँकी छ।
असोज १८, २०७८ सोमबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।