६० प्रतिशतभन्दा बढी निर्माणको काम योजना बाहिरबाट : पूर्वाधार विज्ञ 

६० प्रतिशतभन्दा बढी निर्माणको काम योजना बाहिरबाट : पूर्वाधार विज्ञ 

विज्ञहरूले पूर्वाधार निर्माणमा चरम राजनीति मिसिँदा योजनाभन्दा बाहिरका आयोजना छनोट भइरहेको बताए। 

काठमाडौँमा भएको कार्यक्रममा पूर्वाधार विज्ञ कमल पाण्डेले बजेटमा योजना गरिएभन्दा बाहिरबाट आएका आयोजना प्राथमिकतामा परेको बताए। 

उनले ८ औँ योजनादेखि हालसम्मका आवधिक योजनामा उल्लेख गरिएभन्दा बाहिरबाट मात्रै ६० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणका योजना थपिएको टिप्पणी गरे। राजनीतिज्ञहरूले सम्भाव्यताको अध्ययन, बजेटको सुनिश्चितता तथा उपयोगिताबिनै योजना थोपरिरहेको उनले आरोप लगाए ।

‘अहिले पूर्वाधार क्षेत्रको योगदान अर्थतन्त्रमा ९.५ प्रतिशत छ, यसलाई बढाएर १२ देखि १५ प्रतिशत बनाउनु जरुरी छ,’ उनले भने, ‘तर पूर्वाधार निर्माणमा छुट्टाइएको बजेट नै खर्च गर्न नसकेको अवस्था छ।’

पूर्वाधार निर्माणले गति नलिँदा त्यसको असर उत्पादन र उत्पादकत्वका साथै खपतमा पनि परिरहेको उनको भनाई छ। 

‘बजेटमै हेर्न सक्छौँ, कतिपय आयोजनाहरू हचुवाको भरमा राखिएका छन्, स्रोतको सुनिश्चितता नै छैन, यस्तो अवस्थामा विदेशी दातृ निकायको भर पर्नुको विकल्प छैन,’उनले भने। 

पूर्व सचिव कृष्ण ज्ञवालीले मुलुकमा पूर्वाधार नीति नै नभएको बताए। ‘क्षेत्रगत रूपमा केही नीति नभएका होइनन्, तर समग्र पूर्वाधार क्षेत्रलाई मार्ग निर्देशन गर्ने नीतिको अभाव छ, जसले गर्दा पूर्वाधार निर्माणले गति लिन सकेको छैन,’उनले भने। 

ज्ञवालीले लगानी ल्याउनका लागि, अन्तर्देशीय व्यापार तथा राजनीतिक दर्शनका कारण पनि अपेक्षाकृत सफलता हासिल हुन नसकेको टिप्पणी गरे।

असोज १८, २०७८ सोमबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।