रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना 

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना 

बुटवलः चाडपर्वमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै रुपन्देही प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षााका साथै ट्राफिक व्यवस्थापनका लागि नयाँ योजना बनाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए। 
 

अन्य समयमा भन्दा चाडपर्वको समयमा चोरी निकासी, लुटपाट लगायतका घटना हुन सक्ने भन्दै भित्री सडक तथा गल्लीहरू र मुख्य राजमार्गमा कडाई गरिने उनले बताए। 

सीमा सुरक्षामा पनि थप कडाई गरिएको उनको भनाइ छ। चाडपर्व अवधिभर जिल्लामा ९ सय ४४ जना प्रहरी परिचालन गरिने उनले बताए।

‘प्रत्येक प्रहरी इकाईमा प्रहरी टोली क्यूआरटीका रूपमा राखी परिचालन गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘चाडपर्वका समयमा बढी पटाकाको प्रयोग हुने भएकाले सो हुन नदिन र गर्नेलाई पक्राउ गरी कारबाही गर्ने योजना अघि सारिएको छ।’

यस्तै जुवालगायतका खेलहरू, चन्दालगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन गर्ने, राजमार्गमा रातको समयमा सवारी गस्ती गरिने जनाइएको छ। 

यस्तै, बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड, कार्यालय सहयोगीहरूसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाउने डीएसपी थापाले बताए।

बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई सुरक्षित यात्राको प्रत्याभूति दिने प्रहरीले योजना बनाएको छ। 

असोज १८, २०७८ सोमबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।