साफ च्याम्पियनसिप: नेपाल आज श्रीलंकासँग भिड्दै

साफ च्याम्पियनसिप: नेपाल आज श्रीलंकासँग भिड्दै

काठमाडाैंः माल्दिभ्समा जारी १३औं साफ च्याम्पियनसिपअन्तर्गत आज हुने खेलमा नेपाल र श्रीलंका भिड्दै छन्। नेपाली समयअनुसार राति ९:४५ बाट नेपाल र श्रीलंकाबीचकाे खेल सुरु हुनेछ। 

नेपालले यसअघि भएकाे खेलमा आयाेजक राष्ट्र माल्दिभ्सलाई १-० गाेलअन्तरले पराजित गरेकाे थियाे। नेपालकाे जीतमा मनिष डाँगीले गाेल गरेका थिए। जीतसँगै नेपालले ३ अंक प्राप्त गरेकाे थियाे भने नेपाल अंक तालिकामा हाल दाेश्राे स्थानमा रहेकाे छ। 

आजकाे खेलमा पुनः जीत हासिल गर्दै नेपाल ६ अंक प्राप्त गर्ने हाेडमा हुनेछ। 

यस्तै श्रीलंका भने हाल अंक तालिकाकाे पुछारमा रहेकाे छ। पहिलाे खेलमा बङ्गलादेशसँग पराजित भएकाे श्रीलंका पनि आज जीतकाे खाेजीमा हुनेछ। 

नेपाली टाेलीका कप्तान किरण चम्जाेङले प्री-म्याच कन्फरेन्समा बाेल्दै आफूहरू जीतका लागि खेल्ने बताएका थिए। यता नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि श्रीलंकासँगकाे खेल चुनाैतीपूर्ण हुने बताएका छन्। 

आज साफअन्तर्गत दुई खेल हुनेछ। पहिलाे खेल अपराह्न ४:४५ बाट सुरु हुनेछ। भारत र बङ्गलादेश एकअर्काविरुद्ध भिड्ने छन्। 

असोज १८, २०७८ सोमबार ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।