प्रदेश २ मा मुख्यमन्त्री विरुद्ध लोसपा 

प्रदेश २ मा मुख्यमन्त्री विरुद्ध लोसपा 

लोसपा संसदीय दलको सोमबार जनकपुरमा बसेको पहिलो बैठकले मुख्यमन्त्री विरुद्ध सशक्त विरोध जनाउने विषयमा छलफल गरेको संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए। 

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको गरिमालाई घटाएको भन्दै राजीनामा माग्नु पर्ने आवाज उठेको सोनलले बताए। ‘मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाएका छन्,’सोनलले उकेरासँग भने,‘प्रदेश सभा बैठक अगाडि छलफल गरेर सशक्त विरोध गर्ने निर्णय हुन्छ।’

प्रदेश २ को प्रदेश सभामा १०४ जना सांसद मध्ये लोसपाका १६ र नेकपा एमालेका ८ जना सांसद छन्। प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षी दल भएको र एमाले पनि प्रतिपक्षी दलमै रहेकाले सशक्त विरोध गर्ने विषयमा संसदीय दलको बैठकमा छलफल भएको उनले बताए। 

मुख्यमन्त्रीको राजीनामा माग्ने र प्रदेश सभा बैठक अवरुद्ध गर्ने विषयमा दलको बैठकमा छलफल भए पनि निर्णय भने नभएको सोनलले बताए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेपछि जनता समाजवादी पार्टीले विरोध जनाएको छ। छापा मारेकोमा विरोध जनाउँदा प्रदेशको गरिमा घटेको लोसपाले जनाएको छ।

असोज १८, २०७८ सोमबार २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।